अमेरिकामा प्रहरी अधिकारीबाट कालाजातिका जर्ज फ्लोयड नामका व्यक्ति मारिएपछि शुरु भएको आन्दोलनले देशैभर उग्र रुप लिएको छ ।
आन्दोलन उग्र भएसँगै राजधानी वाशिंगटन डीसीसहित ४० शहरमा कर्फ्यू लगाइएको छ। कर्फ्यू घोषणा गरिए पनि प्रदर्शनकारीले भने त्यसको उल्लंघन गर्दै आन्दोलन गरिरहेका छन्।
आन्दोलनको क्रममा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्ने, पसल तोडफोड गर्ने, प्रहरीको गाडी आगजनी गर्नेजस्ता गतिविधि गरेका छन्।
प्रहरीले पनि आन्दोलनकारीलाई दमन गर्न अश्रुग्यास, रबरका गोली हान्ने गरे पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन ।
अमेरिकामा जातीय विभेदविरुद्ध आन्दोलन चर्किएको छैटौं दिन बितिसकेको छ । सरकारले हत्या गर्ने प्रहरी अधिकारीलाई बर्खास्त गरी मुद्दा चलाए पनि आन्दोलन रोकिएको छैन ।

न्यूयोर्क टाइम्सका अनुसार, शुक्रबार ह्वाइट हाउस अगाडि प्रदर्शनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही समयका लागि अंडरग्राउण्ड बंकरमा लानुपरेको थियो।
२० डलरको नक्कली नोटले ज्यान गयो
अमेरिकाको मिनेपोलिसमा भएको उक्त घटनामा एक प्रहरी अधिकारीले जर्ज फ्लोयड नामका ४६ वर्षीय व्यक्तिको गर्धनमा लामो समयसम्म घुँडाले थिचेका थिए। जसको कारण सास फेर्न नसकी उनको मृत्यु भएको थियो।
फ्लोयडले एउटा पसलमा २० डलरको नक्कली नोटको कारोबार गरेको बताइएको छ। उक्त नोट नक्कली भएको थाहा पाएपछि व्यापारीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी उक्त स्थानमा आएपछि फ्लोयडलाई प्रहरीले भ्यानमा राख्न खोज्दा उनी भुइँमा आफैँ सुतेको प्रहरीको दाबी छ।
त्यसपछिको कारबाहीमा प्रहरी अधिकारीले उनको गर्धनमा थिचेका थिए। घटनास्थलमा रहेका अन्य तीन प्रहरी र फ्लोयडले ती प्रहरी अधिकारीलाई छाड्नको लागि अनुरोध गरेका थिए। तर, उनले मानेनन्।
एजेन्सी