साढे २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको त्रिभुवन विमानस्थल सञ्चालनयोग्य

काठमाडौं । कोभिड-१९ को प्रभावले करिब साढे दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ ।

 

मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी नयाँ संरचना तयार गरिएको हो ।

 

विमानस्थलको ३०० मिटर धावनमार्ग विस्तारसँगै कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जानकारी दिएको छ ।

 

विमानस्थलको भौतिक संरचना तथा कोभिडको जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे विमानस्थलले सञ्चारमाध्यमलाई स्थलगत अवगत गराएको थियो ।

 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा यात्रुको स्वास्थ्य सुरक्षाका लागि सामाजिक दूरी कायम गरिएको छ । यात्रुका लागि अन्तर्राष्ट्रियको टर्मिनलको ट्रली हलमा डेढ मिटर दूरी कायम गरिएको छ । सेवामा खटिने कर्मचारीको स्वास्थ्य सजकताका सबै मापदण्ड बनाइएको छ ।

 

बन्दाबन्दीपछि अन्तर्राष्ट्रिय विमानस्थलको सेवा कसरी सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । सम्भवतः सरकारको निर्णयअनुरुप एक साताभित्रै हवाई उद्धार उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई घर फर्काउनेछ । त्यसका लागि विमानस्थलले अपनाउनुपर्ने आवश्यक सतर्कता र सबैखाले तयारी गरिएको महाप्रबन्धक केसीले बताए ।

 

बन्दाबन्दीको अवस्थामा विमानस्थलको धावनमार्ग विस्तारको काम पनि सकिएको विमानस्थलले जनाएको छ । विमानस्थलको पुरानो ३ हजार मिटर धावनमार्गलाई विस्तार गरी ३ हजार ३०० कायम गरिएको छ । विमानस्थलको दक्षिणतर्फ तीन सय मिटरको धावनमार्ग निर्माण गरिएको हो । विस्तार भएको धावनमार्गमा अब रनवे र एप्रोच लाइटिङको काम मात्रै बाँकी छ । यसले अन्तर्राष्ट्रिय उडान सहजताका साथै हवाई सुरक्षाको सुनिश्चितता हुने विमानस्थलको भनाइ छ ।

 

विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो-टू विस्तारको काम भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो ।

 

आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने बताए ।

 

एशियाली विकास बैंकको सहयोगमा सन् २०१३ देखि नै ठेक्का प्रक्रिया चलेको भए पनि बीचमा ठेकेदारको लापर्वाहीले केही ढिला गरी आयोजना सम्पन्न भएको श्रेष्ठले बताए। ३०० मिटर धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक ८० करोड बजेट खर्च भएको आयोजनाले जनाएको छ ।

‘निगमले प्रतिलिटर ३३ रुपैयाँ नाफा लियो, मूल्य समायोजना नगर्दा व्यवसायी मारमा’ Read Previous

‘निगमले प्रतिलिटर ३३ रुपैयाँ नाफा लियो, मूल्य समायोजना नगर्दा व्यवसायी मारमा’

अमेरिकामा हिंसात्मक प्रदर्शनले उग्र रुप लिँदै, ४० शहरमा कर्फ्यू Read Next

अमेरिकामा हिंसात्मक प्रदर्शनले उग्र रुप लिँदै, ४० शहरमा कर्फ्यू