ट्रम्पद्वारा जी ७ बैठक स्थगित, भारतसहित अन्य देशलाई सहभागी गराउनुपर्ने माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गर्ने भएका छन् ।

 

यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो ।

 

सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिए । अहिले जी७ को संरचना नै ‘पुरानो र असान्दर्भिक’ भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन् ।

 

अमेरिकी संचार माध्यम सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘मैले जी ७ को बैठक कम्तीमा सेप्टेम्बरसम्मका लागि पछाडि सारेको छु, किनभने अहिले संसारमा जे संकट उत्पन्न भइरहेको छ, त्यसको सम्बोधनका लागि अहिलेको जी ७ समूहले सम्बोधन गर्न सक्दैन ।’

 

विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु संयुक्तराज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा जी ७ मा सदस्य राष्ट्र हुन् । यो शिखर सम्मेलन यही जुन १० देखि १२ तारिखसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने तय भएको थियो ।

 

जी७ को अध्यक्षता सातै वटा मुलुकले आलोपालो गर्ने प्रचलन छ ।अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता अलिस्सा फराहले अमेरिकाका परम्परागत मित्रराष्ट्र सहित कोरोना भाइरसबाट प्रभावित राष्ट्रहरुलाई राष्ट्रपति ट्रम्पले समेट्न चाहेको बताउँदै बैठकमा चीनको भविष्यका बारेमा पनि छलफल हुने जानकारी दिए।

 

जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोनाभाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी७ को बैठकमा उपस्थित हुन नसक्ने जनाए लगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गरेकी थिइन् ।

 

राष्ट्रपति ट्रम्पले जी७ को संरचनामा फेरबदल गरी रसिया, भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई सामेल गर्ने प्रस्ताव गरेका छन् । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाएका छन् ।

 

रसियालाई सन् २०१४ मा जी७ को सदस्यबाट हटाइएको थियो ।

बजेटमा ल्याएको टुक्रेटाक्रे कार्यक्रमले जनतालाई राहत पुग्दैन, सीधै नगद दिने व्यवस्था गरौं : डा. बाबुराम भट्टराई Read Previous

बजेटमा ल्याएको टुक्रेटाक्रे कार्यक्रमले जनतालाई राहत पुग्दैन, सीधै नगद दिने व्यवस्था गरौं : डा. बाबुराम भट्टराई

थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो Read Next

थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो