लकडाउनमा त्रिभुवन विमानस्थलको रनवे ३०० मिटर विस्तार, अब आइकाओको मापदण्ड पूरा हुने

काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३०० मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो ३ हजार मिटर लामो धावनमार्गलाई थप ३०० मिटर विस्तार गएको हो ।

 

विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको विमानस्थलले जनाएको छ ।

 

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो ।

 

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जम्बो जेट, बोइङ ७४७, एयरबस ए–३३० लगायत जहाज सहजै उडान अवतरण गर्छन् । यो विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

 

आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले धावनमार्ग विस्तार गरी ३ हजार ३०० मिटर बनाइएको जानकारी दिए । विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड पूरा हुने उनले उल्लेख गरे ।

 

धावनमार्ग विस्तारपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। उनले भने, ‘धावनमार्ग विस्तार भएपछि अन्तर्राष्ट्रिय जहाजलाई उडान अवतरण गर्न सहज हुन्छ, यसले विमानस्थलको सुरक्षालाई पनि मद्धत पुग्छ ।’

 

महाप्रबन्धक केसीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको यो चौथोपटकको धावनमार्ग विस्तार गरिएको हो ।अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जम्बो जेट, बोइङ ७४७, एयरबस ए–३३० लगायत जहाज सहजै उडान अवतरण गर्छन् । यो विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

 

बन्दाबन्दीमै धावनमार्ग विस्तार

 

कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारलै चैत ११ देखि लागू गरेको लकडाउनकै अवस्थामा धावनमार्ग विस्तारको काम सकिएको हो ।

 

३०० मिटर धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक ८० करोड रुपैयाँ बजेट खर्च भएको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए।

 

अन्तर्राष्ट्रिय विमानस्थलको दुवैतर्फ पार्किङ वे विस्तार गरी १५ इन्टरनेशनल एयरक्राफ्ट अट्ने क्षमताको बनाइएको छ । विमानस्थलको पश्चिमतर्फ चार र उत्तरपूर्वतर्फ दुई ठूला जहाज अट्ने गरी पार्किङ क्षमता विस्तार गरिएको छ ।

 

परियोजनाको कालिका तुण्डी जेभीलाई निर्माण ठेक्का दिइएको थियो । चैत ११ देखि जारी लकडाउनसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका नियमित उडान अवतरणमा प्रतिबन्ध गरिएपछि बेलुका ६ देखि बिहान ६ बजेसम्म १२ घण्टा धावनमार्ग विस्तारको काम गरिएको थियो ।

 

३०० मिटर लामो धावनमार्ग विस्तार गरी कालोपत्र गर्ने काम सकिएकाले अब ‘रनवे लाइट र एप्रोच लाइट’ राख्ने काममात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । ‘सिभिल निर्माणको काम सकिएको छ, अब केही प्राविधिक काम बाँकी छ, रनवे लाइट विदेशबाट ल्याउनुपर्ने भएकाले केही समय लाग्नसक्छ,’ सूचना अधिकारी श्रेष्ठले भने ।

 

आयोजनाअन्तर्गत विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको नयाँ ‘स्टेरायल हल’ निर्माणको काम पनि सकिएको छ । यो काम पनि बन्दाबन्दीकै समयावधिमा भएको हो । १ हजार २०० सिट क्षमताको हल बनाइएको छ । अहिले सोही भवनको पुरानो स्टेरायल हल भत्काउने काम भइरहेको छ ।

 

लकडाउनको अवधिमा विमानस्थल विस्तारको काम एक दिन पनि नरोकिएको विमानस्थलले जनाएको छ । विमानस्थलमा बन्दाबन्दीको अवस्थामा रात्रिकालीन उडानका लागि नोटाम जारी गरिएको भए पनि दिउँसो नियमितजसो अन्तर्राष्ट्रिय उडान (दैनिक कम्तीमा पनि एक उडान) भएको विमानस्थलका महाप्रबन्धक केसीले बताए ।

 

अन्तर्राष्ट्रियतर्फ १५ जहाज क्षमताको पार्किङ

 

अन्तर्राष्ट्रिय विमानस्थलको दुवैतर्फ पार्किङ वे विस्तार गरी १५ इन्टरनेशनल एयरक्राफ्ट अट्ने क्षमताको बनाइएको छ । विमानस्थलको पश्चिमतर्फ चार र उत्तरपूर्वतर्फ दुई ठूला जहाज अट्ने गरी पार्किङ क्षमता विस्तार गरिएको छ ।

 

यसअघि विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा नौवटा मात्रै जहाज पार्किङ क्षमता रहेकामा अब १५ वटा ठूला जहाज सहजरुपमा राख्न सकिने महाप्रबन्धक केसीले बताए ।

 

‘पार्किङ वे’ विस्तारको काम विमानस्थल आफैले गरेको हो । विमानस्थलको आन्तरिक टर्मिनलको उत्तरतर्फ पनि क्षमता विस्तार गरी नयाँ हल बनाउने काम भइरहेको छ । बेल्ट थप्ने योजना छ ।

 

बुटिकको काम पनि धमाधम

 

अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ । विमानस्थलको भित्री भागको साजसजावटको काम सकिएको छ । अब अन्तिम काम अन्तर्राष्ट्रिय टर्मिनल बाहिरपट्टि ‘क्यानोपी’ राख्ने काम पनि शुरु भएको छ । क्यानोपीको संरचना बनिसकेको छ ।

 

बन्दाबन्दीले दुई महिनादेखि व्यावसायिक उडान बन्द रहेको अन्तर्राष्ट्रिय विमानस्थलको बन्दाबन्दीपछि कसरी सेवा सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरेको छ ।

 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो ।रासस

एकैदिन थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो Read Previous

एकैदिन थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय Read Next

लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय