काठमाडौं। पछिल्लो समय नेपालको कृषि क्षेत्रमा कर्जा र लगानी दुवै वृद्धि भएको छ । कृषि क्षेत्र विस्तारै आधुनिकीकरण र व्यावसायीकरणतर्फ उन्मुख भएपछि यो क्षेत्रमा ऋण लगानी ह्वात्तै बढेको हो ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार कृषिको खेतीपाती सम्बन्धी सेवा, पशुपालन तथा पशुपालन सम्बन्धी सेवा, कृषि तथा कृषिजन्य सेवा लगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको हो ।
अघिल्लो वर्षको तुलनामा यस्तो कर्जा २२.२ प्रतिशतले वृद्धि भएको छ । कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालनमा छ । २०७५ फागुनसम्म कुल कृषि कर्जा १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ परिचालन भएकोमा २०७६ फागुनसम्म यस्तो २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
पशुपालनको कर्जा अनुपात ३७.०६ प्रतिशत छ भने खेतीपाती सम्बन्धी कर्जाको अनुपात १५.९ प्रतिशत र अन्य कृषिजन्य सेवाको अनुपात ४६.५ प्रतिशत छ ।
२०७६ फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट २६ अर्ब ९७ करोड बराबरको कृषि कर्जा प्रवाह भएकोमा पशुपालनतर्फ मात्र १६ अर्ब २२ करोड रुपैयाँ प्रवाह भएको छ । त्यस्तै खेतीपातीका लागि ५ अर्ब २४ करोड र अन्य कृषिजन्य सेवाका लागि ५ अर्ब ५१ करोड कर्जा प्रवाह भएको छ ।