अटो क्षेत्रका बादशाह अन्तत किन ‘ड्रम’मा लुकेर भागे

कार्लोस गोसन अटो क्षेत्रमा नयाँ नाम होइन । जसरी उनी यो क्षेत्रका चर्चित एंव प्रभावशाली मानिस बने त्यसैगरी कर्मभूमी जापानबाट भएको उनको बर्हिगमन पनि विश्वभर चर्चाको बिषय बनेको छ । हलिउड वा बलिउडको नाटकिय शैलीमा आफु बिरुद्ध मुद्दा चलिरहेको देशबाट उनी निक्लन सफल भएका थिए गत वर्षको डिसेम्बर महिनामा ।

 

उनको भगाइका बारेमा जति समय बित्दैछ उनी नयाँ पहेलीहरु खुल्दै गएका छन् ।

 

फिल्मी शैलीको भगाई

केही तथ्य र अनुमानहरुका अनुसार उनलाई जापानबाट भगाउने काम फिल्मी शैलीमा भएको बुझन कठिन छैन । गोसनकी श्रीमती लेवननी नागरिक जर्ज एन्टीनीयो जायक हुँदै अमेरिकी भूतपूर्व सेना र हालका प्राइभेट डिटेक्टीभ माइकल टेलरको सम्पर्कमा पुगेकी थिइन । उनीहरुले एकदमै लामो समय योजना बनाएर जापानको भूमीबाट गोसनलाई सफलतापूर्वक लेवनानसम्म पुर्याउन सफल भएका थिए । कार्लोस गोसनले आफ्नो ३ वटा पासपोर्ट सरकारलाई बुझाएका थिए । तर, अर्को चौथो पासपोर्ट भने उनको वकिलको ब्रिफकेसमा उनकै अपार्टमेन्टमा रहेको थियो । जापानी कानून अनुसार विदेशी नागरिकसँग सबै समय आफ्नो परिचय पत्र साथमा हुनु पर्ने हुन्छ ।

क्रिसमस र नयाँ वर्षको बीचमा सुरक्षा निकायका अधिकारी सहित सबै जापानीजहरु ‘फेस्टीभ मुड’मा हुन्छन् । उक्त समयलाई कार्लोसलाई भगाउने समय निर्धारण गरिएको थियो । डिसेम्बर ३० का दिन उनी सधंैजसो आफ्नो टोकियोको रुपङ्गीको फ्ल्याटबाट बाहिर हिँड्न निस्कन्छन् । उक्त समयमा उनले क्याप र सर्जिकल मास्क लगाएका थिए । जापानमा कोरोनाको कहर आउनु अघि पनि मास्क लगाएर हिड्नु सामान्य नै हो ।

 

फ्ल्याटबाट निस्कीएपछि उनको पुरानो कम्पनी निसानले हायर गरेको प्राइभेट सेक्युरिटी गार्ड उनको पिछा गरिहाले । तर, निसानका सुराकी तथा गार्डहरुले दुःख दिएको उनले अदालतलाई निवेदन दिएर निश्चित दुरीभन्दा नजिक आउन नदिने निर्णय गराउन सफल भएका थिए ।

 

निसानका अधिकारीहरुले पनि उनि देशबाटै भाग्न सक्छन् भन्नेकुरा सोचेका थिएनन् । जापानी मिडियामा उनको यति चर्चा भएको थियो की सबै जापनीजले उनलाई चिन्थे ।

 

उनि सिधा टोकीयोको सिनगावा ट्रेन स्टेसनबाट ४ः३० को सिंकासेन (बुलेट ट्रेन) चढेर जापानको अर्को सहर ओशाका पुग्छन् । ओशाकाको ट्रेन स्टेसनबाट उनले ट्याक्सीको प्रयोग गर्छन् । एयरपोर्ट नजिकै रहेको होटलमा चेकइन गर्छन् ।

 

निसानका गार्डले उनलाई होटलको बाहिरसम्म पछ्याउछन् । तर, अदालतको आदेश अनुसार उनिहरु होटल भित्र जान सक्ने थिएनन् । कार्लोस कही घण्टा होटलमै बसेको अनुमान रहेको छ । निश्चित समयपछि उनि होटलको पछाडिको गेटबाट पार्किङ लटमा पुग्छन् । जहाँ उनलाई कुरेर भ्यान बसेको थियो ।

 

भ्यान भित्र उनका सहयोगीले उनलाई निद्रा लाग्ने इन्जेक्सन दिएको अनुमान गरिएको छ । जसको कारणले एयरपोर्टको सेक्युरेटी चेकिङमा उनी आरामसँग निदाउँछन् । उनलाई एउटा विशाल ड्रम भित्र राखिन्छ । एयरपोर्टका अधिकारीहरुलाई उनका सहयोगीले म्युजीक कन्सर्टका लागि ओशाका ल्याइएको बताएका थिए । उक्त ड्रममा उनलाई श्वास फेर्न सजिलोहोस भनेर तलपट्टी केही प्वाल पनि पारिएको अनुमान रहेको छ ।

 

गोसनको यो अत्यन्त आँटिलो निर्णय थियो, जुन सफल भएमा आगामी २४ घण्टा भित्र उनी आफ्नो परिवारसँग हुने थिए । यदि योजना असफल भए उनी जीवनभर जापानी जेलमा सड्ने थिए । उनलाई सुताइएको ड्रमको आकार उनि घन्टौसम्म आरामले सुत्न सक्ने थियो तर, यसको आकारले उक्त ड्रम एयरपोर्टको एक्सरे स्क्यानर भित्र पस्दैन थियो ।

 

एयरपोर्टका सुरक्षा अधिकारीहरुले उक्त ड्रमलाई ‘म्यानुअल्ली’ चेकिङ गरेका थिए । दुईवटा विशाल ड्रम ठूला ठूला बक्समा थिए । सुरक्षा अधिकारीहरुले बक्स त खोलेर हेरे तर ड्रमनै फुटाएर हेरेनन् । यसरी उनि ओशाकाको कन्साई इन्टरनेशनल एयरपोर्टको सेक्युरीटी चेकिङलाई छक्काउन सफल रहे ।

 

एयरपोर्टमा बुझाइएको फ्लाइट प्लान र रोस्टरमा उक्त जहाज कन्साइबाट टर्किको इस्तानबुलको रुटमा उड्ने र जहाजमा दुई जना मात्र प्यासेन्जर देखाइएको थियो । कार्लोस भने कार्गोमा लुकेर यात्रा गरिरहेका थिए ।

 

रातको ११ः१० मा उक्त प्लेन टेकअफ गरेको थियो । उक्त फ्लाइटले रेगुलर मार्ग कोरिया हुँदै चाइना–मंगोलीया–कजाकिस्थानको रुट प्रयोग नगरि रसियाको आकाश हुँदै लामो रुट तय गरेको थियो ।

 

जहाज टेकअफ गर्दैमा कार्लाेस सतप्रतिशत सुरक्षित थिएनन् । फ्लाईटको दुरी झण्डै ९ हजार किलोमिटर र समय १२ घण्टाको थियो । गोसन भागेको चाल पाए जापानीज फाइटर जेटले कुनै पनि समय पछ्याउन सक्ने स्थिति रहेको थियो ।

 

उता निसानका गार्डहरु कन्साइ एयरपोर्ट बाहिरको होटलमा उनलाई कुरीरहेका थिए । तर, गोसन चढेको जहाज विहानको ५ः३० बजे टर्कीको इस्तानबुलमा ल्याण्ड भयो ।

विभिन्न रिपोर्टहरुका अनुसार उक्त फ्लाईटका पाइलटहरुलाई समेत कार्गोमा के छ भनेर केही पत्तो थिएन । इस्तानबुलमा ल्याण्ड गरेपछि तत्काल गोसन रहेको बक्सलाई अर्को सानो जेटमा सारेर लेबनानको बेरुतका लागि उडाएको अनुमान गरिएको छ ।

 

दुईवटा फ्रेन्च र एक ब्राजिलियन र लेबनीन सहित कार्लोससँग चारवटा पास्पोर्ट रहेको थियो । धेरै यात्रा गर्ने विश्वका केही व्यक्तिहरुलाई दिइने सुविधा उनलाई दिइएको थियो । आफूसँग भएको एक पासपोर्ट उनले टोकीयोबाट भाग्नु अगाडि वकिलको ब्रिफ्केस फुटालेर निकालेका थिए । जसको सहायताले उनी लेबनानको इमिग्रेसनमा प्रबेश गर्न सफल भए ।

 

डिसेम्बर ३१ मा जापान र विश्वका मिडियाहरुले कार्लोस भाग्न सफल भएको खबर छापे । लेवनानलाई जापानले गोसनलाई फिर्ता गर्न आग्रह गर्यो । तर, सुपुर्दकी सन्धि नभएको हुनाले लेवनानले आफ्नो नागरिकलाई फिर्ता पठाउन बाध्य नभएको जवाफ दियो ।

विश्वसँगै जापान वार्षिक चाडपर्व क्रिसमस सकाएर नयाँ वर्ष मनाउने तयारी गरिरहेको थियो । तर, सोही समय जापानभन्दा १० हजार किलोमिटर टाढा जापानी भूमीबाट सरकारले दोषी घोषणा गरेर नजरबन्दमा राखेका व्यक्ति भगाउने तानावाना बुनिदै थियो ।

 

लेवनानमा जन्मेका, ब्राजिलमा हुर्केका र फ्रान्समा लोभलाग्दो करियर बनाएका ति दोषी व्यक्तिलाई भगाउने प्लानलाई अन्तिम रुपदिने तयारी हुँदै थियो । उनी थिए, निसान मोटर्सका तत्कालीन अध्यक्ष तथा सीइओ कार्लोस गोसन । उनलाई जापानबाट गोसनको भाषामा ‘उद्धार गर्ने मिसन’लाई पुरा गर्न अमेरिकी स्पेशल आर्मी ग्रिन बेरेटका रिटायर्ड स्पेशल अफिसर माइकल टेलर र उनका लेवननी साथी जर्ज एन्टोनी जायक लागि परेका थिए ।

 

जापानको ओशाका सहरको कन्साई इन्टरनेशनल एयरपोर्टमा चार्टड गरिएको स्पेशल जेट चढेर उनिहरु ओर्लिएका थिए । उनीहरुलाई माइकल टेलरका छोरा पिटरले अमेरिकामै बसेर सहयोग गरिरहेको अनुमान अहिले गरिएको छ । तर, पुष्टि भएको छैन ।

 

कार्लोसको उदय

कार्लोस गोसन अटोमोवाइल क्षेत्रका यस्ता उदयमान तारा थिए, जसले आफ्नो कार्य कौशलले धेरै कम्पनीलाई उच्च स्थानमा पुर्याउन सफल भए । जापानीज सरकारले पक्राउ गर्नु पूर्व कार्लोसलाई विश्व अटोमोवाइल क्षेत्र लगायत जापानका आम नागरिकले समेत चमत्कारीक नेतृत्वको रुपमा मानेका थिए ।

कार्लोसको जीवनी सुनेका जो कोहीलाई उनको क्यारियर चमत्कारीक लाग्नु स्वभाविक हो । ब्रजिलमा जन्म, लेवनानमा बाल्यकाल र फ्रान्सलाई कर्मभूमी बनाएर सफलता पाएका थिए उनले । युरोपियन मिचेलीन टायर, रेनो हुँदै निसान जस्तो चर्चित कम्पनीलाई व्यवसायीक रुपमा सफलताको शिखरमा पूर्याउन नेतृत्वदायी भूमिका निभाएका थिए ।

 

कार्लोस एकदमै निर्मम लिडर थिए, कम्पनीको हितको लागि जापानीज व्यवस्थापन सिस्टमलाई उनले चुनौति दिएका थिए । उनले निसानको जिम्मेवारी सम्हालेपछि ५ वटा उत्पादन प्लान्ट बन्द गराएका थिए । अटो क्षेत्रमा उनी ‘कस्ट किलर’ (खर्च घटाउने) को उपमाले चिनिएका थिए । उनको नेतृत्वमा करिब २१ हजार जापानीले रोजगारी गुमाएका थिए । जापान त्यो देश हो जहाँ एक पटकको कामदार सधैँको कामदार भनिन्छ । उनले निसानको स्वामित्वमा रहेको ‘एरो स्पेश’ कम्पनी समेत बिक्री गरिदिएका थिए ।

 

उनको निर्णय निसानको लागि संजिवनी भन्यो । उनको नेतृत्वमा ६.४६ विलियन डलर घाटामा रहेको कम्पनी पहिलो वर्ष नै २.७ विलियन डलर नाफा कमाउन सफल भयो । उनले नेतृत्व गरेको ६ वर्षमै होन्डालाई निसानले उछिनेको थियो ।

 

उनको सफलतालाई जापानीज ‘कमिक बुक’हरुमा सुपर हिरोको उपमा दिइयो । जापानी सम्राटले उनलाई २००४ मै ब्लु रिवन मेडलले सम्मान गरे । सन् २०११ मा भएको एक सर्वेक्षणले उनलाई जापान देश नै संचालन गर्न योग्य लिडरको रुपमा चुनेको थियो ।

 

निसानले सन् २०१० ल्याएको ‘जिरो इमीसन’ कार लीफले विश्वको कार आफ दी एयरको अवार्ड समेत पाउन सफल भएको थियो । ब्रजिलमा संचालन भएको २०१६ ओलम्पीक समर गेममा उनलाई सेलीब्रेटीको रुपमा ओलम्पीक टर्च बोक्ने अवसर दिइएको थियो । लेवनान सरकारले २०१७ मा उनलाई हुलाक टिकटमा स्थान दिएको थिए ।

 

खराब दिनको सुरुवात

उनले परिकल्पना गरेको ‘रेनो–निसान–मित्सुबीसी’ एलायन्स विश्वको सबैभन्दा ठूलो मार्केट सेयर भएको अटोमोवाइल कम्पनीको रुपमा स्थापित हुँदै थियो । तर, कार्लोस कै शब्दमा जापानी संस्थापन समूह र जापानको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी टोयोटाले उनलाई फसाउन प्रपञ्च रच्यो ।

 

पछिल्लो समयमा उनलाई जापानमा परम्परागत मुल्य र मान्यतालाई बिगारेको, निर्मम पूँजीवाद जापानमा भित्राएको आरोप लाग्न सुरु भएको थियो । गोसनको वार्षिक कमाइ १६.९ मिलियन डलर थियो । जुन टोयोटाका अध्यक्ष भन्दा ११ गुणा बढि थियो । गोसन पक्राउ पर्दा उनीसँग नगद र सेयर गरेर १२ करोड ५० लाख डलरको व्यक्तिगत सम्पति रहेको थियो ।

 

उनको भनाईमा जापानीज सरकारले कुनै पनि मुद्धा नचलाई १०५ दिनसम्म थुनामा राखेपछि उनी ९० लाख डलर धरौटीमा रिहा गरेको थियो । विश्वका तीन ठूलो अटो कम्पनीका अध्यक्ष गोसनलाई १६० वर्ग फिटको कोठामा एउटा सामान्य म्याटको भरमा राखिएको थियो ।

 

उनलाई रिहाइ गर्दा जापन छोड्न नमिल्ने, फोन प्रयोग गर्ने सिमित अधिकार, कम्प्युटर चलाउन आफ्नो वकिलको अफिसमा दिनको समयमा वकिलको अगाडि बसेर मात्र चलाउनु पर्ने र कुनै पनि निसानका अधिकारीहरुसँग भेट्न नपाउने जस्ता कडा सर्त राखिएको थियो ।

तर, जापानले लामो सयमसम्म पनि कुनै आरोप पत्र तयार गर्न सकेन । उनलाई थुनेर राख्ने मात्र रणनीतिमा लागेको उनले पछि लेवनानमा गरेको पत्रकार सम्मेलनमा बताएका थिए ।

 

जापानको विद्यमान कानुन जहाँ वित्तय अपराधको आरोप प्रमाणित नभएसम्म थुनामा राख्न नमिल्नेलाई नियमलाई समेत लत्याएर गैरकानुनी थुनामा राखिएको उनको आरोप छ ।

 

थुनामा रहँदा आफ्नो श्रीमती र छोरीलाई समेत भेट्न नदिएको, अत्यन्त भेदभाव पूर्ण व्यवहार गरिएपछि उनले जापानी कानुन प्रक्रियाबाट आफुले कहिल्यै पनि न्याय नपाउने निक्र्योल गरेको बताएका छन् ।

 

जापानीज सरकारले उनलाई ११ करोड ४७ लाख डलर अपचलन गरेको आरोप लगाएर पक्रिएको थियो, जुन पैसा उनले कहिल्यै लिएका थिएनन् । उनले बोर्डबाट स्विकृत गराएर उक्त रकम कम्पनी कै कुनै कोषमा राख्न लगाएका थिए जुन उनले कम्पनी छोडेपछि मात्र प्राप्त गर्न सक्थे ।

 

अन्तमा,

जापान जस्तो देशबाट कसरी उनि भाग्न सफल भए भन्ने कुरालो सबैलाई आश्चर्यमा पारेको छ । यात्रा प्लान कसरी कोअर्डिनेट भयो जापानीज अधिकारीहरु अलमलमा परेका छन् । किनकी उनको सबै टेलिफोन कल र इमेलहरु अधिकारीहरुको निगरानीमा थियो । उनलाई सहयोग गर्न उनकी श्रीमती जो ९ महिना अगाडि जापान छाडेर गएकी थिइन् उनले ठूलो रोल खेलेको अनुमान गरिएको छ । उनको श्रीमतीसँग क्रिसमसको समयमा मात्र वकिलको अगाडि सम्पर्क भएको बताइएको छ । तर, गोसनले पत्रकार सम्मेलनमा आफू एक्लैले इस्केप प्लान सक्सेस बनाएको दावी गरेका छन् ।

 

गोसनलाई कन्साई एयरपोर्टबाट बेरुतसम्म पुर्याउने माइकल टेलर र जर्ज एन्टिनीयो जायकसँग कसरी उनको सम्पर्क भयो तथा उनको इस्केप प्लान कसरी सम्भव भयो टेलरको पक्राउसँगै अब अगाडि आउने पक्का भएको छ ।

 

माइकल टेलरले यस्तै खाले विभिन्न असामान्य कामलाई पुरा गरेका व्यक्ति हुन् । उनि अरुले कल्पना समेत गर्न नसक्ने खतरनाक केसहरुमा आफूलाई सम्मिलित गराउन सधै तयार हुन्छन् । बितेका वर्षहरुमा उनले आर्मी छाडेपछि अमेरिकी गुप्तचर संस्था एफबीआई कालागी म्यासाचुटर डग ग्यागका विरुद्ध स्टीड अपरेसनको काम गरेका थिए । साथै, उनले इराक र अफ्गानिस्थानमा मिलीटरी कन्ट्रायाक्टरको रुपमा समेत काम गरेका थिए ।

 

उनी फ्रेडरर फ्रड केसमा उटाहाको जेलमा समेत बसेका थिए । टेलर र जायकले एउटा सेक्युरीटी कम्पनी समेत खोलेका थिए । जसलाई एफबीआईको अन अफिसीयल इन्फर्मेनका आधारमा क्यालीफोर्नीयाकी एक महिलाले आफ्नो अपरहणमा परेको छोरालाई लेबनानबाट सफलतापूर्वक उद्धार गरेको बताएकी थिइन ।

 

गत बुधबार अमेरिकाको म्यासाचुटसमा ५९ वर्षिय माइकल टेलर र उनका २७ वर्षिय छोरा विटर पक्राउ परेसँगै यो विषय अझ पेचिलो बनेको छ । उनीहरुलाई गै्रर कानूनी रुपमा जापानबाट बक्समा लुकाएर मान्छेको स्मग्लीङ्ग गरेको आरोप लगाइएको छ । जापानले कार्लोस गोसनको नाममा इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरेको छ । टेलर बाबु–छोरालाई पनि जापानीज आग्रहमा पक्राउ गरिएको अनुमान रहेको छ ।

कोकाकोला र क्रिएशनद्वारा ३२०० सफाईकर्मीलाई राहत वितरण Read Previous

कोकाकोला र क्रिएशनद्वारा ३२०० सफाईकर्मीलाई राहत वितरण

मौरीबाट विष उत्पादन गर्ने लक्ष्य, प्रतिकिलो ३० लाखसम्म बेच्न सकिने Read Next

मौरीबाट विष उत्पादन गर्ने लक्ष्य, प्रतिकिलो ३० लाखसम्म बेच्न सकिने