कोकाकोला र क्रिएशनद्वारा ३२०० सफाईकर्मीलाई राहत वितरण

काठमाडौं । नेपालमा द कोकाकोला फाउण्डेसन र क्रिएशनले संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको घोषणा गरेको छ ।

 

यस परियोजनाको लक्ष्य जोखिममा रहेका सफाईकर्मी र उनीहरूका परिवारहरूलाई कोरोना भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पुराउन जागरुकता अभियान, सुरक्षा तथा राहत सामग्रीहरू प्रदान गर्ने हो ।

 

यो परियोजना द कोकाकोला फाउण्डेसनको कोभिड-१९ विरुद्ध लड्न ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिवद्धताको एक हिस्सा हो ।

 

यस परियोजनाको पहिलो कार्यक्रम जेठ २ गते काठमाडौंको बुढानिलकण्ठ स्थित वुमन फर ह्यूमन राइटसमा आयोजना गरिएको थियो, जहाँ १५० सफाईकर्मीहरुलाई सुरक्षा सम्बन्धी जागरूकताका साथ राहत सामग्री पनि वितरण गरिएको थियो ।

 

हालसम्म चार स्थानमा राहत कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन् जसबाट ४०३ सफाईकर्मीहरू प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

 

उनीहरुलाई सुरक्षा सम्बन्धी जागरूकता कार्यक्रम, पाँच जनाको परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न राहत प्याकेज र महिलाहरूको लागि डिग्निटी किट प्रदान गरिएको छ, जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको स्वास्थ सुरक्षाको लागि वातावरण मैत्री र पुनः प्रयोग योग्य सेनेटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको छ ।

 

क्रिएशनको पहलमा गरिएको यस परियोजनामा वुमन फर ह्युमन राइट, डोको रिसाईकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभले आ-आफ्नो सन्जालमा रहेका सफाइकर्मीहरुलाई राहत वितरण गराएर यस परियोजनाको पहुँचलाई व्यापक बनाउन मद्दत गर्ने भएका छन् ।

 

यो परियोजनाको उद्देश्य कोरोना र लकडाउनका कारण संकटको अवस्थामा परेका करिब ३२०० सफाईकर्मीहरु र उनीहरुका परिवारजनको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने हो । यस परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उत्थानमा मद्दत पुर्याउने छ ।

 

यस पहलका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, ‘यस कोभिड—१९ को महामारीको स्थितिमा फोहोर व्यवस्थापनमा कार्यरत सफाईकर्मीहरुको भूमिका ज्यादै महत्वपूर्ण छ । रोगको डर भएपनि आफ्नो जिम्मेवारीलाई निरन्तरता दिएर उनीहरु निरन्तर आफ्नो काममा अग्रपंतिमा रहेर लागि परेका छन् । उनीहरुको यस योगदानको कदर स्वरुप हामीहरुले यो परियोजनाको थालनी गरेका हौँ । द कोकाकोला फाउण्डेसनको सहयोगमा क्रिएशनद्वारा शुरु गरिएको यस परियोजनाले हाम्रा सफाइकर्मीहरुको जीवनमा सहजता ल्याउंछ भन्ने आशा राखेको छु ।’

 

वुमन फर ह्यूमन राइटकी स्थापक लिली थापाका अनुसार सफाईकर्मीहरु पनि अन्य व्यवसायहरु जत्तिकै अग्र पंक्तिमा रहेका छन् र व्यक्तिगत स्तरबाट कम्तिमा उनीहरुको लागि गर्न सक्ने भनेको आफ्नो घरको फोहोर बुझाउनु र फाल्नु अघि बेग्लाबेग्लै छुटाईदिएर मात्र बुझाउन सक्छौं । यसबाहेक, यस्ता पहलहरू सामूहिक एकताबद्ध र उनीहरुको कामप्रति सम्मान देखाउने उत्तम तरिका पनि हो ।

आइएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रबद्र्धनमा सघाउने Read Previous

आइएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रबद्र्धनमा सघाउने

अटो क्षेत्रका बादशाह अन्तत किन ‘ड्रम’मा लुकेर भागे Read Next

अटो क्षेत्रका बादशाह अन्तत किन ‘ड्रम’मा लुकेर भागे