नेपाल र इजरायलका चेम्बर अफ कर्मसबीच सम्झौता

काठमाडौं । नेपाल इजरायल चेम्बर अफ कर्मस एन्ड इन्डष्ट्रिज (एनआईसीसीआई) र इजरायल एसीया चेम्बर अफ कर्मस (आएसीसी) बीच सहकार्यका लागि सम्झौता भएको छ ।

 

सम्झौतामा एनआईसीसीआइको तर्फबाट अध्यक्ष शिशिर भट्ट र आईएनसीसी तर्फबाट उपाअध्यक्ष अनात बर्नस्टेन रेचले हस्ताक्षर गरे ।

 

एनआईसीसीआई र आईएसीसी बीच लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधिको हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार लगायत विभिन्न आर्थिक सहकार्य वृद्धि गर्न सम्झौता भएको हो । इजरायलस्थित नेपाली राजदूत डा. अन्जान शाक्यको समन्वयमा सो सम्झौता भएको हो ।

 

सो अवसरमा राजदूत शाक्यले दुई संस्था बीच सम्पन्न सम्झौताका लागि शुभकामना व्यक्त गर्दै दुई देशको आर्थिक विकासका सहकार्य गर्न अझ सहज भएको बताइन् । सो अवसरमा राजदूत शाक्यले नेपाल र इजरायलका महिला उद्यमीको सशक्तिकरणमा काम गर्नु पर्ने कुरामा समेत जोड दिइन् ।

 

सो अवसरमा र्भचुवल संवाद गर्दै नेपाल इजरायल चेम्बर अफ कर्मसका अध्यक्ष शिशिर भट्टले नेपाल र इजरायल बीच ६० वर्ष अघि शुरु भएको कूटनीतिक सम्बन्धको स्मरण गर्दै यो सम्झौताले दुई देशको बीच व्यापारिक तवरमा यातायात, कृषि, पूर्वाधार, जलविद्युत्, शिक्षा लगायतका क्षेत्रमा द्विपक्षिय सहयोग आदान प्रदान प्रदान हुने बताए ।

 

अध्यक्ष भट्टले वर्तमान अवस्थामा इजरायत नवप्रवर्तक राष्ट्रको रुपमा परिचित भएकाले कोभिड १९ को संक्रमणलाई सजिलै व्यवस्थापन गर्ने विश्वस्त रहेको समेत बताए ।

 

इजरायलले नेपालको कृषि क्षेत्रको विकास र आधुनिकीकरणमा सहयोग गरेको बताउँदै नेपालले पनि कृषि क्षेत्रलाई पूर्ण आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्वमा विशेष ध्यान दिएर अघि बढनुपर्ने बताए ।

अध्यक्ष भट्टले नेपालको विविध प्रकारको मौसम अनुकूलताका कारण कृषि उत्पादनको राम्रो सम्भावना रहेको जनाउँदै इजरायलका कम्पनीसँगको सहकार्यमा यहाँ उत्पादन भएको कृषि उपजलाई विश्वबजारमा पुर्याउन सकिने बताए ।

 

सो अवसरमा इजरायल एशिया चेम्बर अफ कर्मसका अध्यक्ष माथन भिलनाइले दुई संस्था बीच भएको सम्झौताले एक अर्काको सहयोगका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । इजायल नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष अनात बर्नस्टेन रेचले नेपालको वित्तीय क्षेत्रमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफनो तर्फबाट आश्वयक सहयोग गर्ने बताए ।

 

सो अवसरमा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले २ संस्था बीच भएको सम्झौतामा खुशी व्यक्त गर्दै नेपाल र इजरायलको आर्थिक विकासमा थप सहयोग आदान प्रदान हुने बताए । नेपाली टोली केही महिना अघि सम्झौतामा हस्ताक्षर गर्न इजरायल जानु पर्ने तालिका भए पनि कोरोना संकटका कारण जान सकेको थिएन ।

जापानमा चौथो उडान गर्दै नेपाल एयरलाइन्स Read Previous

जापानमा चौथो उडान गर्दै नेपाल एयरलाइन्स

स्वास्थ्य सामग्री लिन चीनको चाङशा उड्यो हिमालय एयरलाइन्स Read Next

स्वास्थ्य सामग्री लिन चीनको चाङशा उड्यो हिमालय एयरलाइन्स