लकडाउनका बीच धमाधम तार भूमिगत गर्दै प्राधिकरण, २६ किलोमिटर तार बिछ्याइयो
गिता भुजेल
प्रकाशित : 4:36 pm, शुक्रबार, जेठ ९, २०७७

काठमाडौं । लकडाउनका बीच विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम निरन्तर जारी राखेको छ ।

 

पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रको तार भूमिगत गर्ने योजना अनुसार प्राधिकारणले काम अगाडि बढाएको छ । जस अनुसार अहिले काठमाडौंका विभिन्न क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहेको छ ।

 

तार भूमिगत आयोजक प्रमुख मनोज सिलेलका अनुसार हाल २ वटा सेक्सनमा काम भइरहको छ । महाराजगञ्ज–बुढानीलकण्ठ सेक्सनमा हाल काम भइरहेको छ । चाबहिल सेक्सनमा काम आज सम्पन्न हुने सिलेलले जानकारी दिए ।

 

प्राधिकरणले ‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ-ठाउँमा प्वाल पारेर तार भूमिगत गरिरहेको छ । जसका कारण सबै सडक खन्नु परेको छैन ।

 

हालसम्म प्राधिकरणले २ किलोमिटर सडकमा तार भूमिगत गर्ने काम सकेको छ । त्यसमा २६ किलोमिटरका हाराहारीमा तार जडान गरिएको उनले बताए ।

 

‘लक डाउनको सुरुमा काम सुरु गर्न गाह्रो भएको थियो, पास, सञ्चालन स्वीकृती लिन समय लागेको थियो त्यो समय धेरै कामदार भारत फर्किए, अहिले थोरै जनशक्ति राखेर भए पनि विस्तारै काम गरिदै छ,’ सिलेलले चाणक्यपोष्टसँग भने ।

 

महाराजगञ्ज–बुढानीकलकण्ठ झण्डै साढे ७ किलोमिटर लम्बाई रहेको छ । चाबहिलको ८ सय मिटर सडकमा तार जडान आज अन्तिम हुने उनले बताए ।उनले चाबहिलमा खानेपानीको पाइप राख्ने काम भइरहेकाले त्यसै मौका पारेर त्यहाँ समेत काम गरिएको बताए ।

 

पाइपलाइन जडानमा भारतीय जनशक्ति धेरै प्रयोग गरिएकोमा धेरै लकडाउनको हल्ला सुनेर भारत फर्किएको उनले जानकारी दिए ।हाल फिल्डमा २५ देखि ३० जना जनशक्तिले काम गरिरहेका छन् । सो क्षेत्रमा काम गर्ने लकडाउन अगाडि ८० जना बढी जनशक्तिले काम गर्दै आएका थिए ।

 

यस्तै उनले केही सामग्रीहरु भारतबाट आउनु पर्नेमा सो समेत लकडाउन र नाकाबन्दीकाकारण रोकिरहेको उनले बताए । भारतीय जनशक्ति समेत नहुँदा काम धेरै सुस्त गतिमा भइरहेको उनको भनाइ छ ।

 

चाबहिलमा तार भूमिगत सम्पन्न भए पछि अर्को सेक्सनमा काम सुरु गरिने छ । हाल कुन सेक्सनमा काम सुरु गर्ने भनेर छलफल भइरहेको उनले बताए ।

 

तार भूमिगत गर्ने यो परियोजना फागुन ५ गते प्रधानमन्त्री केपीशर्मा ओलीले औपचारिक रुपमा उद्घाटन गरी सुरुवात गरिएको थियो ।पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रका विद्युतीय तारहरु भूमिगत गर्न लागिएको हो ।

 

प्राधिकरणले ‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ-ठाउँमा प्वाल पारेर तार भूमिगत गरिरहेको छ । जसका कारण सबै सडक खन्नु परेको छैन । रत्नपार्क र महाराजगञ्जका केन्द्र आसपासको ठाउँमा तार भूमिगत गर्ने काम भारतको केईआइकके कम्पनीलाई ठेक्का दिइएको छ ।

 

विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न एशियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत् वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन ।

 

बिजुलीका तार भूमिगतको काम २०७८ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।