कोरोनाले निम्त्याएको संकट : दुबईका ७० प्रतिशत कम्पनी अबको ६ महिनामा बन्द हुनसक्ने
चाणक्य पोष्ट
प्रकाशित : 2:02 pm, शुक्रबार, जेठ ९, २०७७

कोरोना भाइरसका कारण दुबईका करिब ७० प्रतिशत व्यवसाय अबको ६ महिनामा बन्द हुनसक्ने बताइएको छ । दुबईको चेम्बर अफ कमर्सले गरेको एक सर्वेक्षणले यस्तो बताएको हो ।

 

सवेक्षण अनुसार दुबईका ९० प्रतिशत बढी कम्पनीका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा उनीहरुको विक्री र टर्नओभरमा भारी गिरावट आएको छ ।

 

दुबई चेम्बर अफ कमर्सका अनुसार महामारीका कारण भएको अन्तरराष्ट्रिय सुस्तताको सबैभन्दा धेरै असर साना तथा मझौला उद्योगमा परेको छ ।

 

पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकांश कम्पनी, रियल स्टेटको आधाभन्दा बढी कम्पनी, होटल–रेष्टुरेन्टसमेत रिटेल उद्योगसँग सम्बन्धित मानिसहरुले उनीहरुको काममा ७० प्रतिशतको गिरावट आइसकेको र दोस्रो त्रैमासिकको नतिजा थप भयावह हुने बताएका छन् ।

 

अनुसन्धानमा संलग्न भएका ४८ प्रतिशत कम्पनीले उनीहरुसँग यो महामारीबाट पार पाउनका लागि कुनै तयार योजना नभएको बताएका छन् ।यद्यपि, यी कम्पनीले कोभिड–१९ को प्रकोपलाई सिमित गर्नका लागि उनीहरुले केही उपाय अपनाएको पनि बताएका छन् ।

 

दुबईस्थित कम्पनीमाथि कोरोनाभाइरस महामारीको असर कम गर्नका लागि के गर्न सकिन्छ, यसबारे दुबई चेम्बर अफ कमर्सले केही सुझाव पनि दिएका छन् ।

 

संस्थाले कम्पनीको कानूनी कारवाहीहरुबाट राहत पाउनुपर्ने, भाडामा केही छुट पाउनुपर्ने, कम्पनीसँग सम्बन्धित सरकारी खर्चलाई कम गर्नुपर्ने र सरकारी शुल्कमा माफीबाहेक उनीहरुलाई आर्थिक सहायताको आवश्यकता भएको बताएका छन् ।

 

संयुक्त अरब इमिरेट्समा हालसम्म संक्रमणका करिब २७ हजार संक्रमित भएका छन् भने २३७ जनाको ज्यान गएको छ ।

-बीबीसी