उपत्यकामा मासुको मूल्य ह्वात्तै बढ्यो, कुखुराको मासु प्रतिकेजी ५०० सम्म पुग्ने अनुमान

काठमाडौं । उपत्यकामा मासुजन्य वस्तुको मूल्य वृद्धि भएको छ । पछिल्लो केही साता कुखुरा, भैँसी, खसी लगायतका मासुको मूल्य वृद्धि भएको हो ।

 

लकडाउनका कारण उपत्यका बाहिरबाट पर्याप्त मात्रमा मासुजन्य पशुपन्छी आयात नहुँदा बजारमा मासुको माग बढेसँगै मूल्य समेत वृद्धि हुन थालेको व्यवसायीहरु बताउँछन् ।

 

एक हप्ता अगाडि प्रतिककिलो २५० रुपैयाँ रहेको कुखुराको मासु अहिले ३२० सम्म पुगेको छ भने यो अझै बढ्ने क्रममा छ । यस्तै अण्डाको मूल्य समेत २८० रुपैयाँ प्रतिक्यारेटबाट बढेर ३५० रुपैयाँ पुगेको छ ।

 

ह्याचरी उद्योग संघका अनुसार लकडाउन यथावत रहने हो भने आगामी एक महिनामा कुखुराको मासुको मूल्य ५०० रुपैयाँ प्रतिकेजीसम्म बढ्न सक्ने अनुमान गरिएको छ ।

 

संघका अध्यक्ष टिकाराम पोखरेलले ह्याचरी पूरै बन्द भएकाले लकडाउनकै अवस्था रहे र ढुवानीमा सहजता नभए मूल्य अझै बढ्न सक्ने बताए ।‘कुखुराका ह्याचरी बन्द छ, माग उच्च छ, लक डाउन रहने हो र ढुवानीमा सहज नगराउने हो भने, अझै मूल्य वृद्धि हुन सक्छ,’ पोखरेलले भने ।

 

लकडाउन अगाडी ह्याचरी उद्योगहरूले कुखुराको मूल्य बढाउने मागका क्रममा चल्लाहरू नष्ट गरेका थिए । सो समय कुखुराको उत्पादन घटिसकेको थियो । अब लकडाउनका कारण उद्योगले चल्लाहरूलाई खुवाउने दाना पाइरहेका छैनन् ।

 

कुखुराको दाना नपाउने र व्यवसाय घाटामा जाने अवस्था देखेपछि व्यवसायहरुले कुखुरको मूल्य बढाउन थालेको पोखरेलले बताए ।

 

पछिल्लो समय भैँसीको मासु समेत ५०० रुपैयाँ प्रतिकेजी पुगेको छ । विगतमा भैँसीको मासु प्रतिकेजी ४०० रुपैयाँ रहेको थियो । खसीको मासुको मूल्य १४०० रुपैयाँ प्रतिकेजी पुगेको छ । विगतमा खसीको मासु प्रतिकेजी ११०० रुपैयाँ रहेको थियो ।

 

केही चौपाया व्यवसायीहरुले  सिन्डीकेट लगाएर मनोमानी ढंगले मासुको मूल्य बढाएको एक आपूर्ती कर्ताले बताए । उनले सम्बन्धित निकायले मासु व्यापारीको सट्टा जीवित बोका आपूर्तिकर्ताको अनुगमन गर्नुपर्ने बताए ।

 

विगतका समयमा भारतबाट दैनिक ३ देखि ४ सयको हाराहारीमा खसीबोका आयात हुने गरेको थियो । प्रत्येक सातामा ५ हजारदेखि ५५ सय खसीबोका भारतबाट आयात हुने गरेको थियो ।

 

भारतबाट वार्षिक सवा ४ अर्ब रुपैयाँको जिउँदो पशु, १८ करोड रुपैयाँको तयारी कच्चा मासु र १ अर्ब ८३ करोड रुपैयाँ बराबरको माछा आयात हुने गरेको थियो ।

भारतले आगामी सोमबारदेखि आन्तरिक उडान सञ्चालन गर्ने Read Previous

भारतले आगामी सोमबारदेखि आन्तरिक उडान सञ्चालन गर्ने

आगामी असारदेखि सञ्चालनमा आउँदै देशकै सबैभन्दा ठूलो सबस्टेसन Read Next

आगामी असारदेखि सञ्चालनमा आउँदै देशकै सबैभन्दा ठूलो सबस्टेसन