काठमाडौं । लकडाउनकै बीच रेलसेवा सञ्चालनमा ल्याएको भारतले आगामी सोमबार (मे २५)देखि आन्तरिक हवाइ सेवा सञ्चालन गर्ने भएको छ ।
भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मेबाट हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् ।
उनले ट्वीटरमार्फत सबै विमान कम्पनी र विमानस्थललाई सोमबारदेखि सेवा सूचारु हुने जानकारी गराएका हुन् । उनका अनुसार भारतले हवाई उडान गर्दा पालना गर्नुपर्ने निर्देशिका भने सरकारले जारी गर्ने भएको छ ।
भारतमा ३१ मेसम्म लकडाउन बढाइएको छ । तर, राजधानी नयाँ दिल्लीसहित कतिपय शहरमा शर्तसहित लकडाउन खुकुलो बनाइएको छ । गतहप्तादेखि रेल सेवा सञ्चालनमा ल्याएको भारतले सार्वजनिक यातायात समेत संचालनमा ल्याएको छ ।