लकडाउनको मौका छोपी खाद्यान्नको मनलाग्दी भाउ बढाउँदै व्यापारी

काठमाडौं । पछिल्लो केही साता यता खाद्यान्नको मूल्य वृद्धि हुन थालेको छ । लकडाउनको बेला ढुवानी तथा आपूर्ति व्यवस्था सामान्य अवस्थाको भन्दा असहज भएको भन्दै व्यापारीहरुले मनलाग्दी खाद्य सामग्रीको भाउ बढाउन थालेका हुन् ।

 

पछिल्लो समय रातो दाल, कालो दाल, मुसुरोको दाल तथा गेडागुडीमा प्रतिकेजी १५ रुपैयाँसम्म मूल्य वृद्धि भएको हो । रातो दाल प्रतिकेजि १५५, कालोदाल प्रतिकेजी १५० रुपैयाँ पुगेको छ । गेडागुडी प्रतिकेजी १ सय ६० रुपैयाँसम्म पुगेको नेपाल रिटेल संघले जनाएको छ ।

 

यस्तै सोयाबिन तेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि भएको छ भने सनफ्लाव र तेलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि भएको संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

 

उनका अनुसार पछिल्लो समय ढुवानीक क्रममा यातायात शुल्क बढेसँगै खाद्य सामग्रीको समेत मूल्य वृद्धि हुन गएको हो ।उनले हालको अवस्थामा ३ महिनासम्म पुग्ने खाद्य वस्तु भए पनि लकडाउन बढ्दै गए अथावा खुलेमा त्यसको मूल्य अझै बढ्न सक्ने बताए ।

 

उनका अनुसार उपत्यकामा लक डाउनका कारण उपभोगमा ६० प्रतिशत ह्रास आएको छ ।देशभर कोरोना संक्रमित बढ्दो क्रममा रहेका बेला सरकारले सवारी सञ्चालनमा कडाई गरेको छ । पास पाउनै मुस्कील र यस्तो समयमा ढुवानीमा समेत बढी खर्च लाग्न थालेपछि मूल्य वृद्धि हुन थालेको हो ।

 

बजारमा होलसेल र खुद्रा खाद्यान्न बजारहरु रितिन थालेको उनले बताए । सामग्री नआएपछि यसरी पसलनै रित्तिने अवस्थामा पुग्दा हरेक खाद्य वस्तुको मूल्य वृद्धि हुने अवस्था सृजना हुने उनले बताए ।

 

यसैगरी पछिल्लो समय चामलको मूल्य समेत वृद्धि हुन गएको छ । नयाँ चामल बोरामा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । विगतमा बोराको १ हजार ५५० देखि १ हजार ६५० रुपैयाँ पर्ने जिरा-मसिनो चामलको मूल्य हाल १ हजार ७५० रुपैयाँ पुगेको छ ।

 

कोरोनाका कारण सृजित विषम परिस्थितिमा सरकारले अनुगमन गरिरहे पनि त्यसलाई व्यापक बनाउन नसक्दा व्यापारीहरुले मौका छोपेको उपभोक्ताले आरोप लगाएका छन् ।

 

सरकारी अनुगमन फितलो हुनु तथा सामान्य अवस्थामा जस्तो सबै पसलहरु नखुल्दा व्यापारीहरुले फाइदा उठाउन खोजेको उनीहरुको भनाइ ।

जेठ ११ गते हङकङमा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स Read Previous

जेठ ११ गते हङकङमा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

नेपाल बैंकले ब्याजमा दियो २ प्रतिशत छुट, बेसरेटमै ऋण पाइने Read Next

नेपाल बैंकले ब्याजमा दियो २ प्रतिशत छुट, बेसरेटमै ऋण पाइने