अब खेत बाँझो छाडे प्रतिकट्ठा १ हजार जरिवाना

चितवनको माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ । माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा १ हजार जरिवाना गर्ने जनाएको छ ।

 

कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने जनाएको छ ।

 

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले युवालाई बेरोजगार हुन नदिनका लागि खेतीयोग्य जमीन बाँझो राख्न नदिन लागिएको बताए। कृषकलाई खेती गर्दा नगरपालिकाले अनुदानको व्यवस्थासमेत गरेको छ ।

 

माछापालनका पकेट क्षेत्रका रुपमा रहेको माडी नगरपालिकामा माछापालनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ४ करोड अनुदानको व्यवस्थासमेत गरेको उनले जानकारी दिए।

 

नगरपालिकाका कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायले भने, ‘कम्तीमा मूलबाली लगाउनुपर्छ ।’ साउनदेखि नगरपालिकाले जग्गा अवलोकन गर्ने भन्दै उनले जग्गा बाँझो रहे कारवाही हुने बताए।

 

उनका अनुसार नगरपालिकाभित्र खेतीयोग्य जग्गा खाली हुन नदिन कडाइ गर्न खोजिएको हो । बिघौँ जग्गा किनेर खाली छोड्ने गरेको पाइएकाले नगरपालिकाले जग्गा बाँझो राख्न नदिनका लागि कारवाही अभियान शुरु गर्न लागेको हो ।

 

कृषि उत्पादन गर्न ती जग्गा स्थानीयवासीलाई कमाउन दिन प्रेरितसमेत गरिनेछ । माडीमा हाल ४३ हजार ३६५ जनसङ्ख्या रहेको छ । रासस

अब सवारीसाधन थन्किएको अवधिको प्रिमियम तिर्नु नपर्ने Read Previous

अब सवारीसाधन थन्किएको अवधिको प्रिमियम तिर्नु नपर्ने

कोरोनाको भ्याक्सिन बनाउने अमेरिकी  कम्पनीको सेयर मूल्य एकैदिनमा ३०% बढ्यो Read Next

कोरोनाको भ्याक्सिन बनाउने अमेरिकी कम्पनीको सेयर मूल्य एकैदिनमा ३०% बढ्यो