अमेरिकाको बोस्टनस्थित बायोटेक कम्पनी मोर्डनाले कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको दाबी गरेको छ ।
कोरोना भाइरसको महामारी रोक्नका लागि जारी भ्याक्सिनको पहिलो चरणको ट्रायलमा मानिसमा गरिएको परीक्षणमा सकारात्मक नतिजा कम्पनीको दाबी छ ।
कम्पनीले परीक्षण गरेको खोपले सकारात्मक नतिजा दिएसँगै यसको सेयर मूल्यमा उछाल आएको छ । अमेरिकी सेयर बजारमा कम्पनीको सेयरको मूल्य एकैदिन ३० प्रतिशतसम्म बढेको छ ।
सोमबार ६६ डलरबाट खुलेको कम्पनीको सेयर मूल्य बढेर बढेर ८७ डलर पुगेको थियो भने कारोबार बन्द हुँदा ८० डलरमा झरेको थियो ।

सेयर मूल्य बढेसँगै कम्पनीको नेटवर्थ एकै दिनमा १ अर्ब ३४ करोड डलर बढेको छ ।
मोर्डनाले पहिलो चरणमा ८ जना व्यक्तिमा एमआरएनए भ्याक्सिनको परीक्षण गरेको थियो । भ्याक्सिनले शरिरमा अपेक्षा गरेभन्दा उत्कृष्ट प्रतिरोधात्मक क्षमता बढेको र साइड इफेक्ट पनि सामान्य मात्र रहेको बताएको छ।
कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो। परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ।
यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो। उक्त एन्टिबडीको प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ।
-एजेन्सी