आर्थिक संकटमा फसेपछि थाई एयरवेज निजीकरण गर्ने तयारी

थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्नेगरी थाइल्याण्डको एक अदालतमा निवेदन दिएको छ ।

 

सरकारका एक प्रवक्ता नारुमोन पिन्योसिनवातले थाई एयरवेजको प्रस्तावलाई मन्त्रिपरिषदको स्वीकृतिका लागि मंगलबार पेश गरिने जानकारी दिए । यद्यपि उनले प्रस्तावित कार्ययोजनाका बारेमा विस्तृत रुपमा बताउन चाहेनन् ।

 

थाई एयरवेजले कोरोनाभाइरसका कारण यात्रा र पर्यटन क्षेत्रमा ठूलो संकट उत्पन्न हुनुअघि नै आर्थिक समस्या झेल्दै आएको थियो । थाई एयरले सरकारबाट १ अर्ब ७० करोड अमेरिकी डलर ऋणका लागि प्रस्ताव गरेको छ ।

 

प्रस्तावित योजना कार्यान्वयनमा आए थाई एयरवेजमा सरकारको लगानी ५० प्रतिशतभन्दा कम हुनेछ, र यसले निजीकरणतर्फ अग्रसर गर्नेछ ।उद्धारका विकल्पहरुमध्ये खासगरी कर्मचारी, विमान संख्या र उडानहरु कटौती हुनेछन् ।

 

थाई एयरवेजले सन् २०१९ मा ३७ करोड ४३ लाख, सन् २०१८ मा ३६ करोड १९ लाख तथा सन् २०१७ मा ६ करोड ५८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको थियो ।संचार माध्यमहरुले थाई एयरवेजमा ९ अर्ब ४० करोड डलर ऋणभार रहेको बताएका छन् ।

 

थाई एयरवेजले कोरोनाभाइरस महामारीका कारण अप्रिलको शुरुदेखि नै सबै उडान बन्द गरेको छ । विमान सेवामा कार्यरत अधिकांश कर्मचारीलाई तलब घटाएर विदामा बस्न बाध्य पारिएको छ । सरकारले गत साता अन्तर्राष्ट्रिय उडानबाट थाइल्याण्ड आउन आगामी जुनको अन्त्यसम्म रोक्ने घोषणा गरिसकेको छ ।
-रासस/एपी

३३ अर्ब बजेट सिलिङमा यस्ता ५ कार्यक्रम ल्याउँदै कृषि मन्त्रालय Read Previous

३३ अर्ब बजेट सिलिङमा यस्ता ५ कार्यक्रम ल्याउँदै कृषि मन्त्रालय

चीनसँग व्यापार युद्ध गर्न नचाहेको अस्ट्रेलियाको स्पष्टोक्ति Read Next

चीनसँग व्यापार युद्ध गर्न नचाहेको अस्ट्रेलियाको स्पष्टोक्ति