काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३३ अर्ब १८ करोड रुपैयाँ बजेट सिलिङ अन्तर्गत आफ्नो आगामी योजना बनाइरहेको छ । मन्त्रालयले विशेष ५ बुँदालाई प्राथमिकता दिने गरी आगामी वर्षका कार्यक्रमहरु बन्ने क्रममा रहेका छन् ।
मन्त्रालयले कृषि जमिन बचाउने, युवालाई कृषिमा प्रोत्साहन गर्ने, फलफूल, धान, मकै, गहुँको उत्पादन बढाउने, मल, बीउ तथा कृषि सामग्रीको पहुँच पुर्याउने र कोल्ड स्टोर तथा ड्राइ स्टोर सञ्चालनमा ल्याउने गरी कार्यक्रमहरु बन्ने क्रममा रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।
उनका अनुसार आगामी वर्ष विशेष गरी खाद्य तथा बालीलाई वृद्धि गर्नेगरी कार्यक्रमहरु अगाडि बढाइने छ ।
बाजो जमिन नराख्ने
मन्त्रालयले आगामी वर्षको कार्ययोजनामा कुनै पनि कृषि जमिन बाँझो नराख्ने जनाएको छ । रहेका जमिनहरुलाई चक्लाबन्दी मार्फत कृषि जमिनलाई प्रयोगमा ल्याउने योजना रहेको छ । अन्य जमिनहरुलाई सामूहिक रुपमा अथवा भूमि बैंकमार्फत जमिन कृषिका लागि प्रयोग गरिने छ ।
युवालाई नाफा सहित कृषि क्षेत्रमा टिकाउने
कृषि मन्त्रालयले युवापुस्तालाई कृषि क्षेत्रमा नाफा लागि योजनाहरु बनाउने भएको छ । किसानले उत्पादन गर्ने मुख्य बाली–वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बचतको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने छ ।
किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्ने छन् । सरकारले तोकेको न्यूनतम मूल्य समेत नपाएको खण्डमा सरकार आफैले खरिदको व्यवस्था मिलाउने जनाइएको छ ।
फलफूल, धान, मकै तथा गहुँ लगायतका उत्पादन वृद्धि गर्ने
कृषि मन्त्रालयले फलफूल, धान, मकै र गहुँको उत्पादन वृद्धि गर्ने योजना बनाएको छ । जसमा यस अन्तर्गत विभिन्न नयाँ उन्नत बालीको खोजगरी उत्पादनलाई वृद्धि गराउने आगामी कार्यक्रममा रहेको छ ।
मल, बीउ तथा कृषि सामग्रीको पहुँच वृद्धि गर्ने
उत्पादन सामग्रीमा बीउ, मल, सिँचाइ, बिजुली तथा कृषि सामग्रीहरुमा अनुदानको व्यवस्था गरिने जनाइएको छ । व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित गरि सर्वसुलभ दिइने केसीले बताए । यसरी हरेक कृषि आवश्यक सामग्री किसानसम्म पुग्ने गरी कार्यक्रम बनिरहेको उनको भनाइ छ ।
कोल्ड स्टोर तथा ड्राइ स्टोर निर्माण
मन्त्रालयले खाद्य भन्डारका लागि कोल्ड स्टोर तथा ड्राइ स्टोरको व्यवस्था गर्ने भएको छ । आगामी समयमा कुनै पनि खाद्य अभाव नहोस भन्दै मन्त्रालयले तरकारी तथा फलफूलका लागि कोल्ड स्टोर र धान, गहुँ, मकै, तेलहन, दलहनका लागि ड्राइ स्टोरको वयवस्था गर्ने कार्ययोजना बनाएको छ ।
यस्तै मन्त्रालयले आगामी वर्ष फलफूल, दलहन, तेलहन लगायतका वस्तुमा समेत न्यूनतम मूल्य निर्धारण गर्ने योजना बनाएको छ । हालसम्म मन्त्रालयले गहुँ, उखु, धान, लगायतका वस्तुमा न्यूनतम मूल्य निर्धारण गरेको छ ।
पशुपालन क्षेत्र अन्तर्गत अनिवार्य खोप तथा बीमाको व्यवस्था मिलाइने जनाइएको छ । कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पुर्याउने ग्यारेण्टी गरिने प्रवक्ता केसीले बताए । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बाली-वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ उनको भनाइ छ ।