काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनाको अवधिमा ८१ अर्ब ५५ करोड करोड रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको चैत मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी, उत्पादनमूलक लगायत कम्पनीको धितोपत्र एक्सचेन्जमा सूचीकृत भएका हुन् ।
यस अवधिमा विभिन्न वाणिज्य बैंकहरूको २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको डिबेन्चर सूचीकृत भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले अनिवार्य रूपमा चूक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि धमाधम ऋणपत्र जारी सूचीकृत हुने क्रममा छन् । केही बैंककोऋणपत्र भने दोस्रो बजारमा समेत कारोबार भइसकेको छ ।
यस्तै यस अवधिमा विभिन्न कम्पनीको २६ अर्ब २५ करोड बराबरको बोनस सेयर, १२ अर्ब १६ करोड बराबरको साधारण सेयर (आइपीओ), ५ अर्ब ७५ करोड बराबरको म्युचअल फण्ड (सामूहिक लगानी कोष), ४ अर्ब ११ करोड बराबरको हकप्रद सेयर र ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको अन्य गरी कुल रु.८१ अर्ब ५५ करोड बराबरको धितोपत्र स्टकमा सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब ८० करोड रुपैयाँको म्युचुअल फण्ड र ३ अर्ब २३ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी ३० अर्ब ८९ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।
चैत मसान्तसम्ममा सूचीकृत ४ अर्ब ७० करोड सेयर संख्याको चुक्ता मूल्य ४ खर्ब ६० अर्ब ४६ करोड रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८०.१ प्रतिशत रहेको छ ।
त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.८ प्रतिशत रहेको छ ।