मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर, खाद्यान्नको भाउ अचाक्ली बढ्दा निर्माण सामग्रीको भने घट्यो

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारले वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) नियन्त्रण गर्न असफल भएको देखिएको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ९ महिनाको समष्टीगत आर्थिक तथ्यांक अनुसार चैतमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.७४ प्रतिशत रहेको छ । यो सरकार आफैले राखेको लक्ष्यभन्दा ०.२४ अंकले बढी हो ।

 

सरकारले बजेट वक्तव्यमार्फत चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको भए पनि चैतमा सरकारले तोकेको सीमाभन्दा बाहिर गएको सरकारी तथ्यांकले नै देखाएको हो ।

 

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको बैंकले बताएको छ ।

गत चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ भने गैर-खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

 

कहाँ कति मूल्यवृद्धि ?

 

सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउनको प्रत्यक्ष प्रभाव उपभोग्य वस्तुको मूल्यामा देखिएको छ ।

 

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मूल्यवृद्धि भएको छ भने सबै भन्दा कम हिमाली क्षेत्रमा छ । यस अविधमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत मूल्यवृद्धि भएको छ ।

 

यस्तै तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.७४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो ।

 

त्यसैगरी २०७६ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ४.३८ प्रतिशत रहेको थियो ।

 

उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.२० प्रतिशत, ८.४७ प्रतिशत र २.७५ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.७६ प्रतिशतले घटेको छ ।

विद्युतीय कारोबारप्रति आकर्षण बढ्दो, डिजिटल पेमेन्ट प्रयोगकर्ताको संख्या १ करोड नाघ्यो Read Previous

विद्युतीय कारोबारप्रति आकर्षण बढ्दो, डिजिटल पेमेन्ट प्रयोगकर्ताको संख्या १ करोड नाघ्यो

९ महीनामा साढे ८१ अर्ब बराबरको धितोपत्र सूचीकृत, बैंक र बीमाको हिस्सा ८० प्रतिशत Read Next

९ महीनामा साढे ८१ अर्ब बराबरको धितोपत्र सूचीकृत, बैंक र बीमाको हिस्सा ८० प्रतिशत