महामारीमा फस्टाएको ‘जुम’, जसको निर्मातालाई अमेरिकाद्धारा ८ पटकसम्म भिसा दिन इन्कार

कोरोना महामारीले विश्वमा धेरै प्रकारका व्यवसायलाई व्यापक प्रभाव पारेको छ । कतिपय ठूला कम्पनीहरु नै बन्द भइसकेका वा हुने तरखरमा रहेका छन् । तर, यस्तो प्रतिकूलताका बीचमा पनि केही व्यवसायले भने छलाङ लगाएका छन् ।

 

महामारीको बीचमा त्यस्तै छलाङ लगाउने एक व्यवसाय हो ‘जुम’ । महामारीमा सामाजिक वा भौतिक दूरी कायम गर्नुपर्ने भएपछि धेरै व्यक्तिहरु वा व्यवसायहरुले भर्चुअल बैठक गर्नका लागि यो अनलाइन पूर्वाधारको प्रयोग गर्न थालेका छन् । महामारीको समयमा यो पूर्वाधारको प्रयोग व्यापक मात्रामा बढ्न गएको छ ।

 

अहिलेको समयमा जुम अमेरिकाको सबैभन्दा उदयीमान र राम्रो गरिरहेको कम्पनी हो । गत डिसेम्बरमा १ करोड प्रयोगकर्ता रहेको जुमको अहिले २० करोड प्रयोगकर्ता पुगिसकेका छन् । यो सँगै कम्पनीको सेयर मूल्यमा पनि व्यापक बढोत्तरी भएको छ ।

यो ‘कन्फ्रेन्सिङ’ एप अहिलेको महामारीको सबैभन्दा प्रभावकारी पूर्वाधार भएको छ ।यो एप सन् २०११ मा एरिक युआन नाम गरेका चिनियाँ नागरिकले अमेरिकामा बनाएका हुन् । सन् १९७० मा जन्मेका एरिकलाई अमेरिकाले ८ पटकसम्म भिसा (प्रवेशाज्ञा) दिन इन्कार गरेको थियो ।

 

एरिक अन्तत: अमेरिका जान सफल भएपछि उनले वेबेक्स नाम गरेको कम्पनीमा काम गरे, जुनपछि सिस्कोसँग मर्ज भयो ।

 

जुमले सन् २०१९ मा पब्लिक कम्पनी भएर सर्वसाधारणलाई सेयर बिक्री गरेको थियो । सेयर बिक्री पछिको पहिलो कारोबार दिनमै कम्पनीको सेयर मूल्य ७२ प्रतिशतले बढेको थियो । त्यो दिन कम्पनीको कुल बजार पूँजीकरण १६ अर्ब डलर पुग्यो र एरिक डलर अर्बपति बने ।

 

जुम राम्रोसँग अघि बढिरहेको कम्पनी भए पनि यसरी एकाएक घरायशी नाम बन्ला भनेर चाहिँ कहिल्यै नसोचेको एरिक बताउँछन् । महामारीले अहिले जुमलाई घरायशी नाम बनाइदिएको छ । अहिले एपको बढ्दो मागका कारण आफ्नो जिम्मेवारी बढेको एरिक बताउँछन् । ‘बढ्दो माग पूर्तिको लागि अहिले खटिरहेको छु’, उनी भन्छन् ।

 

जुमलाई लिएर केही विवादहरु नभएका पनि होइनन् । यसको प्रयोगकर्ताका गोपनियताका प्रश्नहरु उठिरहेका छन् । बेलामौका भर्चुअल बैठकहरु चलिरहेको समयमा ह्याकरहरुले भेदभाव पूर्ण अभिव्यक्ति र अश्लिल भिडिया छिराइदिने पनि गरेका छन् ।

 

अमेरिका र चीन बीच तनाव बढिरहेको समयमा जुमको चीनसँगको सम्बन्धलाई लिएर पनि धेरै विवाद हुने गरेका छन्, अमेरिकामा । हाल जुमको प्रधान कार्यालय क्यालीर्फोनियामा रहेको भएपनि चीनका विभिन्न ठाउँमा यो कम्पनीका हजारौं कर्मचारी कार्यरत छन् ।

६३५ मेगावाटको दूधकोशी जलविद्युतलाई ‘राष्ट्रिय गौरवको आयोजना’को रुपमा अघि बढाइँदै Read Previous

६३५ मेगावाटको दूधकोशी जलविद्युतलाई ‘राष्ट्रिय गौरवको आयोजना’को रुपमा अघि बढाइँदै

निम्बस समूहले गर्‍यो सबै कर्मचारीको कोरोना बीमा Read Next

निम्बस समूहले गर्‍यो सबै कर्मचारीको कोरोना बीमा