सेनाले चीनबाट ल्याएको १० कन्टेनर स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
चाणक्य पोष्ट
प्रकाशित : 9:19 am, आइतबार, जेठ ४, २०७७

काठमाडौं । कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौं भित्रिएको छ ।

 

चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै काठमाडौँ आइपुगेका हुन् । ती सामग्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा सङ्कलन गरिएको छ ।

 

सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने डिस्पोजल गाउनलगायतका १ हजार १८० क्युबी स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

 

खरिद गरिएकामध्ये नेपाल वायुसेवा निगमको जहाजमार्फत ४७.५ टन सामग्री केही दिनभित्रै नेपाल ल्याइनेछ । त्यसका लागि निगमको जहाज सोमबार चीनको ग्वाञ्जाओ जाँदैछ । अरु सम्पूर्ण स्वास्थ्य सामग्री सडक मार्गबाट भएर ल्याइनेछ ।

 

नेपालले चीनसँग कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पिपिईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो ।

 

खरिद गरिएका बाँकी सामग्री बोकेका केन्टेनर हाङ्गुबाट गत वैशाख २४, २६ र २८ गते नेपालतर्फ प्रस्थान गरिसकेका छन् । ती कन्टेनरलाई नेपाल आइपुग्न १० देखि १२ दिन लाग्नेछ ।

 

नेपाली सेनाले कोभिड- १९ को जोखिम न्यूनीकरण र रोकथामका लागि क्वारेन्टाइन र अस्पतालसमेत निर्माण गरिरहेको छ । मुलुकको आवश्यकता र कोभिड- १९ ले निम्त्याएको सङ्क्रमण रोकथाम एवं नियन्त्रण गर्ने सन्दर्भमा सेनाले मास्क, सेनिटाइजर र पीपीईको उत्पादनसमेत गर्दै आएको छ ।