काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उद्योगी तथा सांसद विनोद चौधरीको संयोजकत्वमा ‘लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको छ।
कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न समिति गठन गर्ने निर्णय बमोजिम सभापति शेरबहादुर देउवाले सो समिति गठन गरेका हुन्।
समितिमा पार्टीभित्रका सांसदसमेत रहेका उद्यमी र व्यवसायीहरु संलग्न छन् । समितिले कोरोनाका कारण लगानी, पूर्वाधार र रोजगार लगायतका क्षेत्रमा परेका समस्या र उपाय सहितको सुझाव पार्टीको अर्थतन्त्र केन्दित विशेष समितिमा बुझाउने छ ।
विनोद चौधरी संयोजकत्वमा गठित उक्त समितिका सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन्।
डा. रामशरण महतको नेतृत्वमा अर्थतन्त्र केन्द्रित विशेष समिति केही दिन अघिमात्र गठन भएको थियो ।