खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटको बारेकोट गाउँपालिकास्थित नायकवाडा डिपोमा तोकिएको मापदण्डमा खाद्यान्न नहुँदा उपभोक्ता मर्कामा परेका छन् ।
वर्षेनी खाद्यान्न अभाव हुने बारेकोटमा वर्षमा २ हजार ५०० क्विन्टल चामलको कोटा कम्पनीले निर्धारण गरेको छ । घोडा, खच्चडमा ढुवानी गरेर लिएको खाद्यान्नमा तोकिए अनुसारको तौल नभेटिएपछि सेवाग्रहीले विरोध गरेका छन् ।
सदरमुकामस्थित गोदामबाट ३० केजी तौल भएको अरुवा मध्यम खालको चामल घाट डिपोमा लिएर सर्वसाधारणलाई विक्री गर्दा २५ केजी तौल भएको पत्ता लागेको हो ।
वर्षेनी यहाँ लिने खाद्यान्नमा तौल नपुग्नेदेखि बाटोमै चामल विक्री हुनेसम्मका घटना हुँदै आएका छन् । घाटस्थित व्यापार कम्पनीका प्रमुख जयकृष्ण चौधरीले चामलको तौल ३० केजीबाट झरेर २५ केजी भएपछि एक हप्ताअघि गाउँपालिकालाई जानकारी गराएको बताए।
‘मैले चामलको तौलमा गडबडी देखिएपछि गाउँपालिकालाई खबर गरेको थिएँ । त्यसपछि गाउँपालिकाबाट अध्यक्षसहितका टोली अनुगमनमा आउनुभएको थियो,’ उनले भने, ‘तौल कम भएको चामललाई छुट्टै राखेर बिक्री गर्नुहोस् । यसको छानबिन गरौँला भनेर जानुभएको छ ।’ अन्य चामलको तौल पुगेको भए पनि अरुवा मध्यमखालको जापानिज चामलको तौलमा निकै गडबडी भएको छ ।
वर्षेनी चामलमा नाफा लिनका लागि बीच बाटोमा गडबड गर्ने जो भए पनि कारवाही गर्नुपर्ने बारेकोट गाउँपालिका-४ का विष्णु रावतले माग गरे ।
उनले भने, ‘बारेकोट गाउँपालिकाका उपभोक्तामाथि राजनीति गर्ने र नाफाखोरलाई कारवाही गर्न माग गर्दछु । चामलको मूल्यमा पनि कहिले गडबडी सुनिन्छ । अहिले त चामल पनि बोरामै कम छ । एक बोराबाट एक केजी चामल निकाले पनि धेरै फाइदा हुन्छ । यसमा त झन् पाँच केजीको फरक छ । यसमा सबैको मिलोमतो देखिन्छ ।’रासस