कोरोनाको निहुँमा चीन-अस्ट्रेलिया व्यापार युद्ध चर्किँदै, बीफ निर्यातमा अस्ट्रेलियालाई ठूलो धक्का

कोरोनाको निहुँमा चीन अस्ट्रेलिया सम्बन्धमा दरार आएको छ । अमेरिकाले जस्तै अस्ट्रेलियाले पनि चीनले कोरोना भाइरस महामारीको सुरुवाती अवस्था नियन्त्रण गर्न उचित पहल नगरेकाले आरोप लगाएको छ ।

 

प्रतिउत्तरमा चीनले पनि अस्ट्रेलिया ट्रम्पको सुगा बनेको आरोप लगाएको छ। यससँगै दुईराष्ट्र बीच ब्यापार सम्बन्धमा समेत खटपट सुरु भएको छ ।

 

चीनले मंगलबारदेखि अस्ट्रेलियाका  ठूला फार्मले उत्पादन गरेको गाईको मासु (बीफ) आयात नगर्ने बताएको छ । अस्ट्रेलियामा उत्पादन हुने मध्ये १८ प्रतिशत वा वार्षिक ३ अर्ब डलर मूल्य बराबरको गाइको मासु  चीन निर्यात गरिन्छ । गत आइतबार मात्र चिनियाँ अधिकारीले आफ्नो देश भित्रिने अस्ट्रेलियाली जौ मा ८० प्रतिशतले कर बढाउने चेतावनी दिएको थिए ।

 

तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान ले चाहिँ कोरोना भाइरसबारे छानबीन हुनुपर्ने अस्ट्रेलियाली अडानका कारण ती कदमहरु चालिएको भन्ने भनाइको खण्डन गरेका छन् ।

 

बीफ निर्यात गर्ने केही अस्ट्रेलियाली व्यवसायीद्वारा क्वारेन्टिन र अनुगमनका नियमहरुको पटक-पटक पालना नगरिएको उदाहरण भेटिएका कारण पछिल्लो प्रतिबन्ध लागू गरिएको उनले बताए ।

 

तर दुई देश बीचको व्यापार संकट बढ्दै गएको संकेतका माझ अस्ट्रेलियाका अन्य उद्योगलाई लक्षित गर्दै चिनियाँ कदम आउनसक्ने चिन्ता पनि व्यक्त गरिएका छन् ।

 

यसैक्रममा चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले चाहिँ पछिल्ला कदमहरुले चीनद्वारा अस्ट्रेलियालाई आर्थिक रूपमा दण्ड दिइएको भनेर भन्न नमिलेता पनि, ती कदमहरुलाई नकार्न नमिल्ने बताएको छ ।

 

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। अस्ट्रेलियाको कुल निर्यात व्यापारको एक तिहाई हिस्सा चीनसँग हुने गरेको छ। यस्तै अस्ट्रेलिया अध्ययन तथा भ्रमणका लागि लाखौं चिनियाँ नागरिकको रोजाइमा पर्दै आइरहेको छ। दुबै देशबीच १ सय ८९ बिलियन अस्ट्रेलियन डलर बढीको कारोबार हुने गरेको छ।

 

यसले चीनसँगको आर्थिक सम्बन्धबारे अस्ट्रेलियाको आँखा खोल्ने मौका प्रदान गर्न सक्ने उक्त पत्रिकामा लेखिएको छ । अस्ट्रेलियाका लागि आफ्नो सर-सामाग्री निर्यात गर्ने चीन एक मात्र विकल्प रहेता पनि चीनका लागि चाहिँं अस्ट्रेलिया एक मात्र विकल्प होइन ।

 

लेबरका कृषि मामिला सम्बन्धी छायाँ मन्त्री जोल फिट्गिबनले मोरिसन सरकारद्वारा आफ्नो प्रमुख व्यापार साझेदारसँगको सम्बन्ध बिगारेको आरोप लगाएका छन् ।
-एजेन्सी

१ लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निःशुल्क टिकट दिने Read Previous

१ लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निःशुल्क टिकट दिने

'पुरानै ढाँचाको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन असम्भव' Read Next

'पुरानै ढाँचाको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन असम्भव'