काठमाडौं । आगामी असार मसान्तसम्म काठमाडौंमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । ‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा काम अघि बढेको आयोजनाले जनाएको छ ।
अहिले निर्माणस्थलमा झण्डै ३०० कामदार कार्यरत छन् । सरकारले निर्माणजन्य उद्योग खुलाउने निर्णय गरेसँगै अहिले निर्माणस्थलमा आवश्यक सामग्रीको समेत अभाव छैन । लक्ष्यअनुसार आगामी असारमा काठमाडौंमा पानी झार्नका लागि निर्माण कम्पनीलाई कामदार थप गर्न लगाइएको सिनियर डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।
प्रशासनको सहयोगमा आवश्यक निर्माण सामग्री निर्माणस्थलमा ल्याइएको उनले बताए । उनले भने, ‘अहिले काम गर्न कामदार, सामान र उपकरण कुनै कुराको समस्या छैन ।’
अहिले खासगरी सुरुङमा काम बढी भइरहेको छ । सुरुङमा ‘अल्टरनेटिभ डाइभर्सन सिस्टम’ बनाइरहेको र त्यो पूरा भएपछि पानी सुन्दरीजलमा झारिने छ । सुन्दरीजलमा आउटलेट गेटको ढलान सकिन लागेको छ । ढलानको काम सकिएपछि पाइप राख्ने र स्ट्रक्चरको काम हुनेछ ।
लकडाउनलगत्तै कतिपय कामदार निर्माणस्थल छाडेर घर फर्किएका थिए । यहाँका चिनियाँ कामदार र घर जान नसकेका नेपाली कामदारले थोरै काम अघि बढाएका थिए । गत महिना नै मन्त्रिपरिषद्ले तामाकोशी जलविद्युत् आयोजनासँगै यो आयोजनालाई अघि बढाउने निर्णय गरेसँगै अहिले प्रशासनले सवारी पास उपलब्ध गराउनेलगायत आवश्यक समन्वय गरिरहेको छ ।
यहाँको स्थानीय तहले पहिले काम शुरु गर्दा चहलपहल बढ्ने भन्दै विरोध गरे पनि अहिले सहयोग गरिरहेको उनले बताए । उनले भने, ‘आयोजना चाँडो सम्पन्न हुँदा यहाँको स्थानीय तहले पनि पाउने फाइदा चाँडो पाउँछन् ।’
अब झण्डै ४५ दिनको काम बाँकी रहेको प्रमुख डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । नियमितरुपमा अहिले जसरी नै काम गर्ने वातावरण हुँदा असारसम्म पानी झारेर परीक्षण गर्न सकिनेछ । उनले भने, ‘असारसम्म सकिने सम्भावना भएकाले कम्पनीलाई मान्छे थप्न भनिएको थियो ।’
निर्माणस्थलमा रहेका कामदार बाहिर भित्र नगर्ने हुँदा स्वास्थ्य सुरक्षाको समस्या नरहेको उनले बताए । २ महिना पहिले यहाँ कार्यरत परियोजना निर्देशकलगायत चिनियाँ कामदार स्वदेश गएका थिए । उनीहरु नेपाल फर्किएपछि दुई साता क्वारेन्टाइनमा बसेर अहिले उनीहरु काममा लागेका छन् ।
त्यस्तै, यहाँ पहिले काम गरेका दोलखाका कामदार फर्किएपछि नयाँ कामदारलाई स्वास्थ्य सावधानी अपनाएर निर्माणस्थल लगिएको छ । निर्माण कम्पनीले बाहिरबाट जाने आगन्तुकको पनि परीक्षण गराएरमात्रै गेटभित्र प्रवेश गराएको उनले बताए । स्थानीय तहले परीक्षण गरेपछि मात्रै उनीहरु साइटमा गएका छन् । उनले भने, ‘केही दिन पहिले ४० जना कामदारको मेलम्ची नगरपालिकाले आरडिटी परीक्षण गरेको थियो ।’
यसअघि नै सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण भइसकेको छ । हेडबक्समा तत्कालका लागि नगरी नहुने काम भएको श्रेष्ठले बताए । उनका अनुसार ‘हेडबक्स’ निर्माणको अवधि आगामी डिसेम्बरसम्म रहेकाले अहिले प्राथमिकता दिनु नपरेको हो ।
अहिले खासगरी सुरुङमा काम बढी भइरहेको छ । सुरुङमा ‘अल्टरनेटिभ डाइभर्सन सिस्टम’ बनाइरहेको र त्यो पूरा भएपछि पानी सुन्दरीजलमा झारिने उनले बताए। सुन्दरीजलमा आउटलेट गेटको ढलान सकिन लागेको छ ।
ढलानको काम सकिएपछि पाइप राख्ने र स्ट्रक्चरको काम हुनेछ । झण्डै २७ किमी लम्बाइको सुरुङमा सफाइको काम धेरै भइसकेको छ । अहिले एकदेखि डेढ किमी क्षेत्रफलमा सफा गर्न बाँकी छ । सिन्धु र ग्यालथोममा गेट बनाउन बाँकी छ । ग्यालथोममा गेटको ब्लास्टिङ सकियो भने सिन्धुमा अब ब्लास्टिङ शुरु हुने उनले बताए । ‘गेट सकिएपछि टर्नेलमा पानी हाल्न तयार हुन्छ,’ उनले भने ।
खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले आयोजनाको काम अहिले तोकिएको तालिकाभन्दा केही ढिलो भए पनि अझै असारमा पानी झार्न आशा रहेको बताए । अहिलेसम्म कति काम सकियो र कति बाँकी छ भनी यकिन नभए पनि केही ढिलाइ भइसकेको छ ।
आयोजनामा लकडाउनका कारण समयमै सामग्री नपाउने र कतिपय घर फर्किएका कामदार ल्याउन नसकिनेलगायत चुनौती रहेको उनले बताए । ‘कतिपय विज्ञ भारतीय नागरिक थिए र उनीहरु घर फर्किएका छन्, तत्काल फर्काउने सम्भावना छैन,’ उनले भने ।
नयाँ निर्माण कम्पनीले नियमितरुपमा गर्दै आएको कामको गतिका आधारमा आगामी असारसम्ममा उपत्यकामा मेलम्चीको पानी आइपुग्ने आयोजनाले बताउँदै आएको थियो ।
अहिलेसम्म पनि काममा धेरै ढिला नभएकाले प्रशासन र स्थानीय तहले सहयोग गर्दा अझै पनि असारमै काठमाडौंमा पानी झार्ने सम्भावना छ । सरकारले विशेष महत्व दिएर काम गर्ने वातावरण बनाउँदा गर्न बाँकी समयमा काम सकिने आयोजनाले जनाएको छ ।
यसअघि कार्यरत इटालियन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ ।
आयोजनास्थल हेलम्बु गाउँपालिका-१ अम्बाथानमा नेपाली र चिनियाँ गरी अहिले झण्डै ४००ले काम गर्दै आएका छन् । सरकारले बाँकी भनिएको ५ प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग गत वर्ष सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ ।रासस