काठमाडौं । लकडाउनका कारण चालू आर्थिक वर्षमा मालपोत राजश्व संकलन पनि प्रभावित हुने भएको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन लागू गरेयता घरजग्गा कारोबार ठप्प भएकाले राजश्व संकलन पनि घट्ने भएको हो ।
भूमि तथा सहकारी विभागका प्रवक्ता जनकराज जोशिले चालू आर्थिक वर्षमा साढे ७ अर्ब बराबरको राजश्व कम संकलन हुने अनुमान गरेको बताए । उनले लकडाउन यता मालपोत कार्यालयमा कुनै कारोबार नभएको भन्दै यो पटक राजश्व संकलन कम हुने बताए ।
उनका अनुसार गत वर्ष कुल ४० अर्बका हारहारीमा राजश्व संकलन भएको थियो । चालू आवमा घरजग्गा कारोबारबाट ४४ अर्ब रुपैयाँका हाराहारीमा राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
चालू आवको चैत्र अघिसम्म २८ अर्ब रुपैयाँ बराबर राजश्व संकलन भएको उनले बताए । ‘सबैभन्दा धेरै मालपोत कार्यालयबाट राजश्व उठ्ने हो, तर यो पटक लक्ष्य अनुसार राजश्व छैन,’ जोशीले भने ।
विभागले घरजग्गा कारोबार मार्फत राजिष्ट्रेसन, पूँजीगत लाभकर, कित्ताकाट लगायतका शीर्षकमा राजश्व संकलन गर्दै आएको छ ।क्रमशः उकालो लाग्दै गरेको मालपोत राजश्वलाई फेरि लकडाउनले ओरालो झारेको उनको भनाइ छ ।
गत वर्षको तुलनामा बढ्दै गएको घरजग्गा कारोबार लकडाउनका कारण ठप्प बनेको छ । जसका कारण चालू आवको लक्ष्य अनुसार राजश्व संकलन हुन सकेको छैन ।
गत आर्थिक वर्ष २०७५/७६ मा कुल ३६ अर्ब ९ करोड ५४ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । रजिष्टेशन दस्तुरतर्फ २३ अर्ब १८ करोड ६६ लाख ७३ हजार रुपैयाँ संकलन भएको थियो ।