काठमाडौं । पूर्वमन्त्री गोकर्ण विष्टले नेपाल ठूलो आर्थिक संकटको भूमरीमा पर्न लागेको भन्दै त्यसलाई कसरी जोगाउने भन्ने विषयमा बजेट केन्द्रीत हुनु पर्ने धारणा राखेका छन् । आर्थिक वर्ष २०७७/७८ को ‘प्रि बजेट’ छलफलमा सहभागि हुँदै सांसद विष्टले बजेटको प्रथमिकता र सिद्धान्तका क्षेत्रहरु प्रस्ट नभएको बताएका हुन् ।
उनले अब बेरोजगारीको अवस्था झनै भयावह हुने भन्दै नयाँ उद्योग खोल्न ‘ट्याक्स होलिडे’ घोषणा गर्नुपर्ने धारणा राखेका छन् । बैदेशिक रोजगारीमा आउने कमी र नेपालकै धेरै क्षेत्र लामो समयसम्म संकटमा रहने भएकाले सरकारले नयाँ खुल्ने उद्योगलाई समय तोकेर कर छुट दिनु पर्छ ।
सांसद विष्टले सरकारले कोरोनोको संकटपछि नेपालको स्वास्थ्य क्षेत्रको क्षमता वृद्धिमा जोड दिदै त्यसलाई बलियो बनाउन बजेट केन्द्रीत हुनु पर्ने बताएका छन् ।
त्यसैगरि उनले आगामी वर्ष नेपालको खाद्य सुरक्षामा ठूलो चुनौति आउने भन्दै आगामी बर्ष उत्पादन कसरी बढाउन सकिन्छ र जनतालाई खाद्य सुरक्षाको प्रत्याभूति दिन सकिन्छ । त्यो खोजेर बजेट विनियोजन गर्नु पर्छ ।
बजेट सरकारले पहिल्ये जस्तै ल्याउने देखिएको भन्दै विष्टले भने ‘सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा प्रस्टता ल्याउन जरुरी छ ।’
विष्टले कोरोनाको कारण सृजना हुने बेरोजगारी र शिक्षा क्षेत्रमा पर्ने असरलाई कम गर्न बजेट केन्द्रीत हुनु पर्ने उनको भनाई थियो ।