डेढ महिना कारोबार गर्न नपाएका लगानीकर्ता : पैसा हातमा लिएर बसेका किन्न आतुर, पैसा फसेकालाई बेच्न हतार

सेयर ब्रोकरहरुको कार्यालय आजबाट खुलेका छन् । डेढ महिनापछि मंगलबारदेखि सेयर बजार खुल्दै छ । सेयर बजारलाई लिएर अहिले विभिन्न आंकलन गरिन थालेका छन् ।

 

सेयर बजार अब ध्वस्तै भएर झर्ने भन्दै केही लगानीकर्ताहरु आत्तिरहेका पनि भेटिन्छन् । त्यसैले सेयर बजारलाई त्यसरी ‘फ्रि फल’ हुन नदिन २ प्रतिशत भन्दा धेरै घट्यो भने त्यो दिनका लागि कारोबार बन्द गर्ने नयाँ नियम धितोपत्र बोर्डले सार्वजनिक गरेको छ ।

 

पैसा हातमा लिएर बसेका मानिसहरु केही दिन बजार घट्छ र त्यसपछि बढ्छ भनेर त्यसै अनुसार आफ्ना तर्कहरु बनाउन थालेका छन् । उनीहरु शुरुका केही दिन बजार घट्दा सेयर किन्ने रणनीतिमा छन् । उता पहिल्यै सेयर किनेर ‘फसेका’ मानिसहरु अब सेयर बेचेर निस्कन चाहन्छन् र त्यसै अनुसार तर्क निर्माण गरिरहेका छन् ।

 

उता अर्का थरि लगानीकर्ताहरु भने सेयर बजार केही दिन खस्छ र त्यसपछि सेयर उठाउन थाल्नुपर्छ भनेर रणनीति बनाएर बसेका पनि भेटिन्छन् ।

 

दुवैका आ-आफ्नै तर्क छन् 

 

बजार ध्वस्त हुन्छ भन्नेहरुको बुझाइमा अर्थतन्त्र केही वर्षसम्म उठ्नै नसकने गरी थला पर्ने छ । सरकारलाई चालू खर्च धान्न पनि मुश्किल पर्नेछ । रेमिट्यान्स घट्नेछ । उपभोग घट्नेछ । त्यसले चरम तरलता अभाव हुनेछ र त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्नेछ । त्यसैले अबको केही वर्ष सेयर बजारमा लगानी गर्ने भन्ने प्रश्नै छैन, भएको सेयर पनि बेचेर बाहिर निस्कने हो भन्ने उनीहरुको बुझाइ छ ।

 

अझ अर्को कुरा, राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाहरुको नाफा घट्ने र सेयर बजारमा यी कम्पनीकै बाहुल्यता भएका कारण पनि सेयर बजारमा लगानी लाभदायक नहुने उनीहरुको बुझाइ छ ।

 

अर्कोतर्फ एकथरी लगानीकर्ताहरु अबको समयलाइ सेयर बजारमा लगानी गर्नका लागि उत्तम समयको रुपमा हेरिरहेका छन् । उनीहरुको बुझाइमा अन्य क्षेत्रमा लगानी ठप्प भएको समयमा सबैभन्दा आकर्षक र भरपर्दो बजार भनेकोे नै सेयर बजार हो ।

 

‘आयातको व्यापार ठप्प छ । उद्योगधन्दा बन्द छन् । केटाकेटीहरुलाई विदेश पठाउने काम कम्तीमा एक डेढ वर्षका लागि थाँती रहने भएको छ । विवाहमा हुने खर्च जोगिएका छन् । ३०–३५ लाख खर्च गरेर विवाह गर्ने मानिसहरुले विना खर्च विवाह गरेका छन् । समग्रमा भन्दा मानिसहरुको बचत बढेको छ । यसरी बढेको बचत अन्य क्षेत्र ठप्प हुँदा लगानी गर्नका लागि सेयर बजारमा भन्दा अर्को उपयुक्त ठाउँ के नै हुन सक्छ र ?,’ एक लगानीकर्ता भन्छन् ।

 

बैंक तथा वित्तीय संस्थाको नाफा उल्लेख्य मात्रामा घट्छ भन्नेमा पनि उनीहरुलाई विश्वास छैन ।

 

‘बेस रेट कम भएका बैंकका मात्र नाफा केही घट्ने हो । अन्य बैंकका नाफा खासै घट्दैनन् । मैले केही बैंक र विकास बैंकका उच्च अधिकारीहरुसँग कुरा गरेको छु । उनीहरुका अनुसार उनीहरुले टार्गेट गरेको नाफामा केही प्रतिशतमात्र तलमाथि हुने हो । ब्याजको पैसा उठ्न केही ढिलो हुने भएपनि उठ्दै नउठ्ने भन्ने हुँदैन,’ ब्रोकर कार्यालयहरु खुलेको दिन बजार निरीक्षणमा निस्किएका अर्का लगानीकर्ताले भने ।

 

उता लघुवित्तहरुको पनि नाफा बढ्नेमा एक ब्रोकर ढुक्क छन् । ‘अब बैदेशिक रोजगारीमा गएका धेरै मानिसहरु घर फर्कन थाल्नेछन् । उनीहरु गाउँ आएपछि खेती किसानीका लागि ऋण लिने भनको नै लघुवित्त कम्पनीबाट हो । विचार गर्नुस त अबका दिनमा लघुवित्तका कारोबारहरु कसरी बढ्लान्,’ उनी भन्छन्, ‘सरकारले विदेशबाट मदिरा आयात गर्न बन्द गरेपछि नाफा बढ्ने भनेकै हिमालयन डिस्टीलरी जस्ता कम्पनीहरुको हो ।’

 

ती ब्रोकरको बुझाइमा शुरुका केही दिन बजार घटे पनि असार सम्ममा बजारले गति लिन्छ । नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेट आएपछि सेयर बजरले छलाङ नै लगाउनेमा उनी विश्वस्त छन् ।

 

सेयर बजारमा सदा झैं आ–आफ्नो अनुकूलता अनुसार व्याख्या हुन थालेका छन् । पैसा हातमा लिएर बसेका मानिसहरु केही दिन बजार घट्छ र त्यसपछि बढ्छ भनेर त्यसै अनुसार आफ्ना तर्कहरु बनाउन थालेका छन् । उनीहरु शुरुका केही दिन बजार घट्दा सेयर किन्ने रणनीतिमा छन् । उता पहिल्यै सेयर किनेर ‘फसेका’ मानिसहरु अब सेयर बेचेर निस्कन चाहन्छन् र त्यसै अनुसार तर्क निर्माण गरिरहेका छन् ।

 

तर, महामारीको रुपमा फैलिएको कोरोनालाई भने यी दुवै तर्कको खासै मतलब छैन । उसले मानव सभ्यतालाई नै चुनौती दिने काम जारी नै राखेको छ । पश्चिमी युरोपमा केही सुस्ताए पनि पूर्वी युरोप र ल्याटिन अमेरिकामा यसले तहल्का मच्चाउन शुरु गरेको छ । यसको अन्त्यको संकेत नदेखिएको र औषधी पनि पत्ता नलागेको अवस्थामा यसको विश्वव्यापी प्रभाव र त्यसको नेपालमा पर्ने असरहरु बारे अहिल्यै केही मूल्याङ्कन हुन सम्भव छैन ।

 

त्यसैले विभिन्नथरी तर्कहरुका सीमितता छन् । अन्तिम तस्वीर आएको छैन । र, त्यो आउन अझै केही महिना कुर्नै पर्ने हुन्छ । आ–आफ्ना तर्क निर्माण गर्न सबै स्वतन्त्र नै छन् । तर, आफैंले निर्माण गरेको तर्कको आत्मरतिमा मात्र रुमल्लिनु पनि त्यति लाभदायक चाहिँ पक्कै पनि होइन । सत्य कतै बीच तिर होला कि !

एनआईसी एशिया क्यापिटलका ग्राहकले सेवा शुल्कमा छुट पाउने Read Previous

एनआईसी एशिया क्यापिटलका ग्राहकले सेवा शुल्कमा छुट पाउने

कोरियामा फेरि बल्झियो कोरोना, क्लब र बार अनिश्चितकालका लागि बन्द Read Next

कोरियामा फेरि बल्झियो कोरोना, क्लब र बार अनिश्चितकालका लागि बन्द