कोरियामा फेरि बल्झियो कोरोना, क्लब र बार अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ ।

 

कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस संक्रमणको दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशबासीलाई अपिल गरेका छन् ।

 

भाइरस नियन्त्रणका सन्दर्भमा दक्षिण कोरियाले उदाहरणीय कार्य गरेको छ । तर राजधानी सियोलका मेयरले शनिबार रात्रिजीवनका लागि निकै प्रख्यात मानिएको इताओनमा नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएसँगै नयाँ आदेश जारी गरेका छन् ।

 

गत सप्ताहान्तमा इताओनका ५ वटा क्लब र बारमा पुगेका एक २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र उनीबाटै अरु ५० भन्दा बढी व्यक्तिमा कोरोना सरेको भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

 

सियोलका मेयर पार्क वोन–सूनले सानो असावधानीले संक्रमण व्यापक बन्न सक्छ भन्दै नगरपालिकाले जारी गरेको आदेश अनिश्चितकालका लागि लागू हुने बताए ।

 

सियोललाई घेरेको गियोङ्गी प्रान्तले पनि ५ हजार ७०० भन्दा बढी मनोरंजन केन्द्रहरु आइतबारदेखि लागू हुनेगरी दुई साताका लागि बन्द गरेको छ ।

 

इताओनका मनोरंजन केन्द्रहरुमा करिब ७ हजार २०० मानिस पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उक्त स्थानमा पुगेका सबै नागरिकलाई तत्काल स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ ।

 

आइतबार भेटिएका ३४ जना नयाँ संक्रमितमध्ये २४ जना इताओनका मनोरंजन स्थलहरुमा पुगेका व्यक्ति रहेका कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ ।

 

दक्षिण कोरियाको दैनिक जीवन विस्तारै सामान्यीकरणतर्फ उन्मूख भइरहेका बखत नयाँ संक्रमण देखिएको छ । सरकारले पनि गत बुधबारदेखि सामाजिक दूरीसम्बन्धी नियमलाई खुकुलो बनाएको थियो ।
-एएफपी

डेढ महिना कारोबार गर्न नपाएका लगानीकर्ता : पैसा हातमा लिएर बसेका किन्न आतुर, पैसा फसेकालाई बेच्न हतार Read Previous

डेढ महिना कारोबार गर्न नपाएका लगानीकर्ता : पैसा हातमा लिएर बसेका किन्न आतुर, पैसा फसेकालाई बेच्न हतार

कपिलवस्तुमा  थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो Read Next

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो