काठमाडौं । आज (आइतबार)देखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन्।
मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णय अनुसार बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयका आधारमा आजदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आउने भएका हुन् ।नेपाल बैंकर्स सङ्घले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ।
एक पटकमा शाखा कार्यालयमा ५ जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ।
‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए। शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो।
सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए। उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए। सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ।