अमेरिकामा बेरोजगारी १९३० यताकै उच्च, २ करोड बढीको जागिर गयो
चाणक्य पोष्ट
प्रकाशित : 1:31 pm, शनिबार, वैशाख २७, २०७७

काठमाडौं । कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारी दर १४.७ प्रतिशतमा पुगेको छ । यो सन् १९३० को  आर्थिक मन्दी यताकै उच्च बनेको हो ।

 

अमेरिकाको श्रम मन्त्रालयका अनुसार अप्रिलमा २ करोड ५ लाखभन्दा बढी मानिस बेरोजगार भएका छन् । दुई महिनाअघिसम्म अमेरिकाको बेरोजगारी ५० वर्षयताकै सबैभन्दा कम ३.५ प्रतिशतमा थियो ।

 

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित हस्पिटालिटी क्षेत्रमा ७७ लाख मानिसको रोजगारी गुमेको छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २५ लाख मानिसको रोजगारी गुमेको छ ।

 

श्रम विभागका अनुसार १ करोड ८१ लाख मानिसको रोजगारी अस्थायी रुपमा गुमेको छ । यस्तोमा अवस्था सामान्य भएसँगै अर्थतन्त्र पुनः पहिलाको जस्तै हुने अनुमान गरिएको छ ।

 

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भविष्यमा अमेरिकी अर्थतन्त्रमा सुधार आउने बताएका छन् । फक्सन्युजलाई दिएको अन्तर्वार्तामा अप्रिलको रोजगारीको नतिजा कुनै नौलो नरहेको बताउँदै आफूलाई यसको आशंका पहिला नै भएको बताएका हुन् ।

 

ट्रम्पले आफूलाई बेरोजगारी बढेकोमा विपक्षी नेताले पनि दोष नदिएको बताएका छन् । उनले आफूले अमेरिमा गुमेको रोजगारी फेरि फिर्ता ल्याउन सक्ने दाबी पनि गरेका छन् ।

 

अर्थशास्त्रीहरुले अमेरिकामा जति लामो समयसम्म् लकडाउन रह्यो अर्थतन्त्रमा त्यति नै धेरै नोक्सानी हुन सक्ने बताएका छन् ।

-एजेन्सी