काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्चेन्ज (नेप्से) लाई आइतबारदेखि नियमित काम थाल्न निर्देशन दिएको छ।
कार्यालय आइतबारदेखि खुले पनि दोस्रो बजारमा कारोबार भने बैशाख २८ गते (मंगलबार) देखि मात्र गर्ने गरी निर्देशन दिइएको बोर्डले बताएको छ ।
लामो समय सेयर बजार बन्द गर्न नहुने भन्दै मंगलबारदेखि कारोबार खुला गर्न धितोपत्र बोर्डले निर्देशन दिएको हो। विगत डेढ महिनादेखि नेप्से बन्द रहेको छ । लकडाउनका कारण गत चैत १२ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार भएको थियो ।
बोर्डले नेप्सेलाई सम्भव भएसम्म अनलाइनबाट कारोबार गराउन निर्देशन दिएको छ । यस्तै बोर्डले कारोबार समय पनि २ घण्टा घटाउन नेप्सेलाई निर्देशन दिएको छ । यसअघि विहान ११ बजेदिख दिउँसो ४ बजेसम्म कारोबार हुँदै आएकोमा बोर्डले बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार खुल्ला गर्न नेप्सेलाई निर्देशन दिएको छ।
यसका साथै सर्किट ब्रेकरको नियममा पनि केही परिवर्तन गरिएको छ। बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै २ प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरिएको बोर्डले बताएको छ।
बोर्डको निर्णय अनुसार कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशतभन्दा माथिले बजार बढ्दा र दुई प्रतिशतभन्दा तल घट्दा सर्किट लाग्ने छ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बैंक तथा बीमा, धितोपत्र, सहकारी संस्थामार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारीले सेवा संचालन गर्न सक्ने निर्णय गरेको थियो ।