काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम तर्जुमाका निम्ति सुझाव संकलन गर्ने उद्देश्यले प्रि बजेटकालीन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विगतका वर्षहरूमा प्रत्यक्ष रूपमा पूर्व बजेटकालीन अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको राष्ट्र बैंकले लकडाउनका कारण यसवर्ष
वेबीनारमार्फत उक्त कार्यक्रम आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, पूँजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरू एवम् अर्थविज्ञसँग प्रि बजेट बारे सुझावहरू संकलन गरेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्का संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
यस्तै, नेपाल बैंकर्स एसोसियन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल इन्भेष्टमेन्ट फोरम, नेपाल सुनचाँदी व्यवसायी संघलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
उनीहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड-१९ को विषम परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी बजेटले समेट्नुपर्ने आवश्यक नीतिगत सुझावहरू प्रस्तुत गरेका थिए ।
गभर्नर अधिकारीले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणको निम्ति नेपाल राष्ट्र बैंक केन्द्रित रहेको उल्लेख गर्दै सहभागीहरूबाट प्राप्त सुझावहरू समेतको आधारमा नेपाल सरकारसमक्ष पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने जानकारी दिए ।