काठमाडौं । नेपाल टेलिकमले हिमालपारिको जिल्ला मुस्ताङमा उच्चगतिको डाटा तथा भ्वाइस सेवा दिन शुरु गरेको छ । लकडाउनकै समयमा मुस्ताङमा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा शुरु भएको हो ।
लकडाउनको समयमा मुस्ताङ जिल्ला प्रवेशमा लगाइएको रोकका बाबजूद नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङको प्राविधिक समूहले जोमसोम पुगेर काम थालेको थियो ।
साविकको धवलागिरि अञ्चलका बागलुङ, पर्वत र म्याग्दीमा यो सेवा यसअघि नै सञ्चालन भइसकेको थियो । बागलुङबाट चार प्राविधिक र मुस्ताङ कार्यालयमा रहेका थप चार जना प्राविधिकले जोमसोम र ठिनीगाउँमा रहेको झण्डै नौ किलोमिटर दूरीमा फाइबर विस्तार गरेका थिए ।
फाइबरको मुख्य लाइन विस्तारको काम सकिएको र आगामी जेठदेखि ग्राहकका लागि डिभाइस र लाइन वितरणको काम थालिने बताइएको छ ।
स्थानीय प्रशासन, स्थानीय तह र सरोकारवालासँगको छलफलपछि मुस्ताङ पुगेको प्राविधिक समूहले काम थालेको थियो । तत्कालका लागि मुस्ताङका ४०० ग्राहकले ‘फाइबर टु दि होम’ सेवा प्रयोग गर्न पाउने छन् ।
तामाको तारमा प्रावह भइरहेको डाटा तथा भ्वाइस भरपर्दो र कम गतिको भएको गुनासो आइरहेकाले लकडाउनको प्रवाह नगरी मुस्ताङमा काम गरिएको हो ।
मुस्ताङका सरकारी तथा गैरसरकारी कार्यालय र होटल व्यवसाय उच्चगतिको इन्टरनेट प्रयोग गर्न नपाएका कारण सबैभन्दा धेरै मर्कामा थिए । फाइबरबाट ८ एबीपीएस गतिको इन्टरनेट सुपथ मूल्यमा उपलब्ध हुने भएकाले उपभोक्ताको गुनासो कम हुने टेलिकमले जनाएको छ ।
न्यूनतम ८०० प्रतिमहिना खर्च आउने यो प्याकेजबाहेक अझै उच्च क्षमताको इन्टरनेट उपभोक्ताको मागको आधारमा उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ ।