वित्तीय कारोबार गर्ने सहकारीका दुई ठूला संस्थाले ब्याजदरमा एकरुपता गर्ने

काठमाडौ । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) बिच ब्याजदरमा एकरुपता गर्ने सहमती भएको छ ।

 

सहकारी बैंक र नेफ्स्कूनले व्याजदरमा एकरुपता गर्ने लगायत विषयमा सहकार्य गर्ने सम्वन्धमा बैशाख १७ गते सहमती पत्रमा हस्ताक्षर समेत गरेका थिए । दुवै संस्थाबिच वित्तिय सहकारीको स्थायीत्व र दिगो संचालनका लागि सहकार्य गर्ने विषयमा सहमती भएको जनाइएको छ ।

 

दुवै संस्थाले कोरोना संक्रमणका कारण सहकारीमा पर्न जाने वित्तिय संकट टार्न, नेपालको सहकारी अभियानलाई व्यवस्थित र व्यवसायीक बनाउन सहकार्य गर्ने जनाएका छन् । सहकार्य गर्नका लागि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैंक र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदलसमेत गठन गरिएको छ ।

 

नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सरोकारवालाहरुसंगको भिडियो कन्फ्ररेन्समा बोल्दै बैंकका अध्यक्ष केबि उप्रेतीले बैंक र नेफ्स्कूनका देश भरिका शाखाबाट लिने दिने व्याजमा एकरुपता हुने बताए ।

 

तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सहकार्य गरिने उनको भनाई छ । तरलता व्यवस्थापन गर्न, बचत र ऋण सहकारीमा हुने कारोबारमा एकरुपता हुने उनको भनाइ छ । यसले नमुना परियोजना सञ्चालन गर्न पनि सजिलो हुने उनले बताए । प्रदेश स्तरीय नमुना परियोजनाका लागि प्रयास भइरहेको भन्दै उक्त परियोजनामा बैंकले ७० प्रतिशत लगानी गर्ने उप्रेतीले बताए ।

 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यदलको प्रतिवेदन आएपछि बैंकसंग दीर्घकालीन सहकार्य गरिने बताए । बिषयका आधारले यात्रा केही फरक रहेपनी बैंकसंग अन्तरबिरोध नरहेको उनको भनाई छ ।

 

कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले सहकार्यले सिङ्गो सहकारी माझ खुसी छाएको बताए । प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने उनको भनाई छ । यो जोखिमपुर्ण काम भएपनि सहकारीको दिगो व्यवस्थापनका लागि सहकार्य आवश्यक भएको उनको भनाइ छ ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले वित्तिय प्रोड्क्ट डिजिटलाइजेसन गर्न सहकार्यमा जोड दिइएको बताए । सहकार्य पश्चात बैंकको चेक नेफ्स्कून मार्फत र नेफ्स्कूनको चेक बैंकमार्फत साटिने छ । कार्यदलले बैशाख २७ गतेसम्म प्रारम्भिक प्रतिवेदन तयार गर्ने जनाइएको छ ।

 

तरलता व्यवस्थापनका लागि दुवै संस्थाले विपद् ब्यवस्थापन केन्द्रिय तरलता कोष स्थापना गर्ने जनाएका छन् । उक्त कोषमा बैंकले एक अर्ब र नेफ्स्कूनले १० करोड रुपैंया जम्मा गरेको बताए । कोरोनाले नेपाल सहित विश्व नै संकटबाट गुज्रिरहेको बेला सहकारीमा समस्या आउन नदिन कोष खडा गरिएको उनीहरुको भनाई छ ।

स्याउको बीमा गर्ने बढे Read Previous

स्याउको बीमा गर्ने बढे

अनुमति विना भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने Read Next

अनुमति विना भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने