काठमाडौं। अलिबाबा ग्रुपको लगानी रहेको नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले साना तथा मझौला पसल तथा व्यवसायहरुलाई सहयोग गर्नका लागि ५५ लाख रुपैयाँको सहायता कोष निर्माण गरेको छ । दराजका प्रबन्ध निर्देशक लिनोले उक्त जानकारी दिएका हुन् ।
‘हामीले हालै दराज सहयात्री कार्यक्रम शुरु गरेका छौं । ५५ लाख रुपैयाँको यो सहायता कोष साना तथा मझौला व्यवसायहरुलाइ सहयोग गर्नका लागि हामीले ल्याएका हौं । यो कोषले साना तथा मझौला व्यवसायहरुले हाम्रो प्लेटर्फम मार्फत बिना कुनै शुल्क आफ्नो सामान विक्री गर्न सक्नेछन्,’ उनले भने। सामान्यतः दराजको माध्यमबाट आफ्ना सामानहरु बेच्नका लागि केही शुल्क तिर्नुपर्ने हुन्छ ।
अहिले कोरोना नियन्त्रणको लागि सरकारले गरिरहेको लकडाउनका कारण बिशेषगरि साना तथा मझौला व्यवसायहरु निकै प्रताडित भएका छन् । कतिपय व्यवसायहरु औपचारिक रुपमा दर्ता भएर बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिएर सञ्चालन नभएका कारण सरकारले दिएका कतिपय छुटहरु पनि उनीहरुले पाउन नसक्ने अवस्था रहेको छ । यस्तो अवस्थामा लकडाउन पनि उनीहरु व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था पुग्न सक्नने जानकारहरु बताउन थालेका छन् ।
दराजले यो परिस्थितमा साना तथा मझौला व्यवसायहरुलाई सहयोग गर्ने प्रसाय गरेको हो । ‘हामी सबै साना व्यवसायहरु सामाजिक दुरी र अहिलेका तमाम प्रतिबन्धहरुका वावजुद केही हदसम्म सञ्चालनमा आउन सकुन भन्ने ढंगले काम गरिरहेका छौं,’ कम्पनीले जनाएको छ ।
दराजले दैनिक उपभोग्य वस्तुहरु, इलेक्ट्रोनिक सामानहरु लगायत वस्तुहरु दराज मार्फत बेच्नका लागि आव्हान समेत गरेको छ र सहयात्री सहयोग कोष आगामी जुन महिनासम्म चल्ने समेत जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वव्यापी रुपामा सामाजिक दुरी कायम गर्नुपरेपछि दराज जस्ता अनलाइन व्यवसायहरुको भुमिका, माग र व्यापार विश्वव्यापी रुपमा बढेको छ । नेपालमा पनि अरु देशको तुलनामा भर्खरै शुरु हुन थालेको यो व्यवसायीक क्षेत्रले अबका दिनमा छलाङ लगाउने अनुमान गर्न थालिएको छ । साथै, डिजिटल र अनलाइन प्रणालीहरुमा आधारित अर्थतन्त्रको निर्माण गरिनुपर्ने भनेर पनि समाजमा चर्चा शुरु हुन थालेको छ ।