भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट, निर्यात ४ वर्ष यताकै कम

कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।

 

मागमा व्यापक कमी आएपछि नयाँ व्यवसायहरु यस अवधिमा शुरु हुन पाएका छैनन् भने हाल सञ्चालनमा रहेका उद्योग व्यवसायबाट पनि व्यापक मात्रामा कर्मचारी कटौती गरिएका छन् ।

 

यहीबीच, उत्पादित वस्तुको मागलाई यथावत राख्न उद्योग प्रतिष्ठानहरुले लागत खर्च र उत्पादित सामग्रीको मूल्यमा पनि निकै कमी ल्याएका छन् ।

 

मार्च महिनामा ५१.८ विन्दुमा रहेको आइएचएस मार्किट इन्डिया म्यानुफ्याक्चरिङ पीएमआई अप्रिल महिनामा झण्डै आधाले घटेर २७.४ विन्दुमा झरेको छ । भारतमा मासिक पीएमआई गणना विगत १५ वर्षदेखिको तथ्यांक विश्लेषणका आधारमा हुने गरेको छ ।

 

पीएमआई गणनामा समाविष्ट विज्ञहरुको समूहले कलकारखानाहरु अस्थायी रुपमा बन्द गरिएका कारण उत्पादनमै कमी आएको बताएको छ ।

 

कलकारखाना र व्यवसायहरु सबैजसो बन्द गरिएका कारण अप्रिल महिनामा मागमा नराम्रो असर परेको हो । विगत अढाई वर्षयता पहिलोपटक नयाँ मागमा गिरावट आएको छ । भारतीय औद्योगिक सर्भेमै पहिलो पटक सबैभन्दा तीव्र गतिमा मागमा कमी आएको हो ।

 

अप्रिल महिनामा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि मागमा व्यापक कमी आएको छ । सन् २०१७ यता विदेश निर्यातमा पहिलोपटक सबैभन्दा कमजोर स्थिति देखिएको छ । मागमा कमी आएसँगै अप्रिलमा व्यापक कर्मचारी कटौती भएको छ ।

 

भारतीय आइएचएस पीएमआई भारतीय औद्योगिक क्षेत्रको सूचना विश्लेषण गर्ने प्रमुख सूचक हो ।

महसुल उठाउन विद्युत् प्राधिकरणले ल्यायो आचारसंहिता, संकलन भएको पैसा स्यानिटाइज गरिने Read Previous

महसुल उठाउन विद्युत् प्राधिकरणले ल्यायो आचारसंहिता, संकलन भएको पैसा स्यानिटाइज गरिने

७ दिनका लागि कर्णाली प्रदेश सिल गर्ने निर्णय Read Next

७ दिनका लागि कर्णाली प्रदेश सिल गर्ने निर्णय