एसियाकै धनाड्य मुकेश अम्बानीको रिलायन्स जियोमा पछिल्लो समय अमेरिकी कम्पनीको लगानीओइरिरहेको छ । केही समय अघि विश्वकै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले ५ अर्ब ७० करोड डलर लगानी गरेको जियोमा फेरि अर्को अमेरिकी कम्पनीले लगानी गर्ने भएको छ ।
फेसबुकले १० प्रतिशत सेयर किन्ने घोषणा गरेको दुईसाता पछि अमेरिकाको सबैभन्दा ठूलो प्राइभेट इक्विटी कम्पनी सिल्भर लेकले भारतको रिलायन्स जियो प्लेटफर्ममा सेयर लगानी गर्ने भएको छ।
सिल्भर लेकले जियोको ७५ करोड डलर बराबरको १.१५ प्रतिशत सेयर खरीद गर्ने भएको हो। यो डिलसँगै रिलायन्स इन्डस्ट्रिजको टेलिकम कम्पनी रिलायन्स जियोको कुल मूल्यांकन ४.१५ लाख करोड भारु पुगेको छ।
टेक्नोलोजीसँग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने सिलसिलामा सिल्भर लेक सन्सारकै दिग्गज कम्पनी हो। यसअन्तर्गतको सम्पत्ति ४३ अर्ब डलर छ। कम्पनीले १०० भन्दा बढी क्षेत्रमा लगानी गरेको छ। बढीजसो लगानी सिलिकन भ्याली, न्यूयोर्क, हङकङ र लन्डनमा छ।
जियोको लन्च सन् २०१६ मा भएको थियो। तीन वर्षमा यो भारतकै सबैभन्दा ठूलो टेलिकम कम्पनीका रूपमा स्थापित भइसकेको छ। कम्पनीसँग करिब ३४ करोडभन्दा बढी ग्राहक छन्।