बाँझो जग्गा खनजोत गर्दै उपत्यकावासी, बेच्न तयार पारिएको प्लटिङमा धमाधम खेती

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीमा उपत्यकाको काँठ क्षेत्रका स्थानीयवासी भने खेतबारीमा खेती लगाउने र उठाउने काममा व्यस्त छन् । उपत्यकाको काँठ क्षेत्रमा हाल आलु खन्ने, गहुँ भित्र्याउने, मकै छर्नेलगायत काममा मानिस फाँटमा देखिन्छन् ।

 

राजधानीको उत्तरपूर्वी भेगका कागेश्वरी मनोहरा, शङ्खरापुर, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखालगायत क्षेत्रमा अझै खाली जग्गा छ । त्यहाँ अहिले पनि गहुँ पाकेर पहेँलाम्मे बनेको छ । विगत वर्षमा गहुँ काट्न तराई मूल एवं भारतको विहारका मानिस आउने भए पनि यस वर्ष नगण्य मात्र छन् । स्थानीय तहले पनि सुरक्षितरुपमा कृषि कर्म गर्न किसानलाई आह्वान गरेका छन् ।

 

बन्दाबन्दीको शुरुमा उपत्यकाको काँठ क्षेत्रमा बढी कडाइ गरिए पनि कृषिउपज उठाउने बेलामा खुला गरिएको छ । यस क्षेत्रको वाग्मती, कागेश्वरी, मनोहरा, घट्टेखोला, रुद्रमती, विष्णुमतीलगायत नदी किनारका फाँटमा हजारौँ मानिस कृषि कर्म गरिरहेका भेटिन्छन् ।

 

राजधानीको उत्तर पश्चिमी भेगका तारकेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा खेती हुने फाँट छ । फाँटमा बाली उठाउने र लगाउने किसानको भीडभाड छ । नागार्जुनका स्थानीयवासी रमिला महर्जन सुरक्षित तरिकाले घरका परिवारले खेत बारीमा काम गरिरहेको बताउँछन् ।

 

ललितपुर र भक्तपुरका स्थानीय तहअन्तर्गतका फाँटमा काम गर्ने किसानको पनि भीड देखिन्छ । सङ्घीय सरकारले पनि सुरक्षितरुपमा कृषि कर्म गर्न यसअघि नै अनुरोध गरिसकेको छ । खेती नभएको जग्गामा तरकारी खेती लगाइएको छ । प्लाष्टिकको सुरुङ बनाएर गरिएको खेतीले बन्दाबन्दीमा स्थानीयवासीलाई राहत पनि दिएको छ ।

 

प्लाष्टिकभित्रको तरकारी खेतीले राहत

 

बन्दाबन्दीका बेला उपत्यका बाहिरबाट तरकारी आउन नसक्ने भएकाले स्थानीय उत्पादनले काँठ क्षेत्रका स्थानीयवासीले ताजा तरकारी खान पाएका छन् । उपत्यकाका काँठ क्षेत्रमा वर्षौं खाली रहेको जग्गा पनि बन्दाबन्दीमा खनेर उब्जनीका लागि उपयोग गर्ने तयारी भएको छ ।

 

तरकारी खेतीसँगै काँठ क्षेत्रका स्थानीय तहमा गाई, बाख्रा, भैँसी, सुँगुर, बङ्गुर, कुखुरालगायत घरपालुवा जनावर पनि पालिएका छन् । यसले दूध एवं मासुका लागि सहयोग पुगेको छ । यस्ता व्यवसायलाई केन्द्रीय सरकारका साथै स्थानीय तहले पनि प्रवद्र्धनका लागि सहयोग गर्नुपर्ने व्यवसायीको माग छ ।

 

यसरी उत्पादन हुने तरकारी, दूध, मासुलगायत बजार प्रवद्र्धनमा स्थानीय तहले सहयोग गरे स्थानीयवासीले सहजै उपभोग्य सामग्री पाउने छन् । यसरी उब्जाउ हुने तरकारी, दूध, मासुलगायत उपभोग्य वस्तुको गुणस्तर, मूल्य निर्धारणलगायत नियमनका काममा पनि स्थानीय सरकारको ध्यान जानुपर्ने चन्द्रागिरिका स्थानीयवासी मदनप्रसाद भण्डारीले ध्यानाकर्षण गराए।

 

प्लटिङ जग्गामा खेती

 

कति मानिस त जग्गा खण्डीकरण (प्लटिङ) गरी बेच्न तयार पारिएको स्थानमा पनि खेती गरिरहेका छन् । आलापोटका स्थानीयवासी नेत्रप्रसाद न्यौपाने खण्डीकरण गरेको जग्गा विक्री नभएपछि बन्दाबन्दीमा खनेर मकै छरिएको बताउँछन् ।

 

बन्दाबन्दीमा अरु काम नभएपछि मानिस बाँझो रहेका जग्गा खनजोत गरी अनाज लगाई समय बिताउन थालेका हुन् । यस बेला स्थानीय तहले बाँझो जग्गाका बारेमा नीति निर्धारण गर्नसके खेतीका लागि सहयोग पुग्ने माग स्थानीयवासीको माग छ ।

 

डेढ महिनाको बन्दाबन्दीमा काँठ क्षेत्रमा डेरा गरी बस्ने धेरै मानिस राजधानीबाट बाहिरिएका छन् । यसबीचमा जग्गा किनबेचमा पनि मन्दी छ । कोरोनाको डर कहिलेसम्म रहने एवं बन्दाबन्दी जारी रहने भन्ने निश्चित नभएकाले पनि जग्गा किनबेचमा मानिसको रुचि घटेको देखिन्छ ।

 

बन्दाबन्दीका बेला खेतीयोग्य जमीनमा खण्डीकरण नगर्ने गरी नीति निर्धारण गरिनुपर्ने मागसमेत किसानको छ । राजधानीबाट बाहिरिएकालाई आआफ्नै गाउँघरमा रोजगारीको व्यवस्था गरेर राजधानीमा बस्ने बानी व्यहोरामा सुधार गर्ने नीति निर्धारण गर्नुपर्ने देखिन्छ ।

 

गाउँमा पूर्वाधारलगायत सेवा सुविधाको पहुँच पुर्याएर तीव्ररुपमा भइरहेको बसाइँसराइलाई न्यून गर्न सकिने देखिन्छ ।

मजदूर अभावले मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम ठप्प Read Previous

मजदूर अभावले मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम ठप्प

फेसबुकपछि अर्को अमेरिकी कम्पनीले रिलायन्स जियोको ७५ करोड डलरको सेयर किन्दै Read Next

फेसबुकपछि अर्को अमेरिकी कम्पनीले रिलायन्स जियोको ७५ करोड डलरको सेयर किन्दै