मजदूर अभावले मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम ठप्प

सांकेतिक तस्वीर

कोभिड–१९ बाट जोगिन र जोगाउन भन्दै मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । जाजरकोट र रुकुम पश्चिमको करिब ४२ किलोमिटर काम ठप्प भएको हो । जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी २१४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गअन्तर्गत पर्दछ ।

 

लकडाउनका कारण राष्ट्रिय गौरवको आयोजनाका काम नरोक्ने सरकारी निर्णय भए पनि मध्यपहाडी लोकमार्गको काम मजदूर अभावकै कारण रोकिएको छ । रुकुम र जाजरकोट खण्डको काम रोकिएपछि तोकिएको समयमा निर्माण नहुने पक्का भएको छ ।

 

आयोजनाले रुकुम खण्डमा आगामी असार मसान्तभित्र कालोपत्र गरिसक्ने लक्ष्य लिएको थियो । सानीभेरी–चौरजहारी सडकखण्डको ३२ किलोमिटर कालोपत्रको काम करिब १महिनादेखि रोकिएको लोकमार्गको दैलेख आयोजना कार्यालयले जनाएको छ ।

 

कालोपत्र गर्नका लागि ठिक्क परेको काम रोकिएपछि समस्या भएको छ । रुकुमको ३२ किलोमिटर र जाजरकोटको १० किलोमिटर सडकमा कालोपत्र गर्ने ठिक्क पारिएको भए पनि लकडाउनका कारण मजदुर नहुँदा काम रोकिएको छ । अन्य मेशिनबाट हुने काम जारी रहेको निर्माण कम्पनीले बताएका छन् ।

 

शर्मा सिंह एन्ड ब्रदर्स जेभीका विश्वास उप्रेतीका अनुसार कालोपत्र गर्नका लागि आधारभूत काम सकिएको थियो, कालोपत्र शुरु हुनै लाग्दा लकडाउन हुँदा काम रोकिएको छ । बाँकी कच्ची कटान गर्ने काम भने उपकरणमार्फत हुने काम भने चालु रहेको छ ।

 

जाजरकोट खण्डमा रहेको ८२ किलोमिटर सडकखण्ड मध्ये ५५ किलोमिटर शर्मा सिंह एन्ड ब्रदर्स जेभीले काम गर्ने ठेक्का पाएको छ । ‘अहिले मेशिनको काम मात्र भएका छन्,’उप्रेतीले भने, ‘अब दुई, चार दिनभित्र मेशिनको काम रोकिने सम्भावना छ, नेपालगञ्जबाट आउने सामग्री आउन छाडिसकेको छ । तेलको आपूर्तिसमेत ठप्प भएको छ ।’ जाजरकोटको सबैभन्दा जटिल मानिएको छेडागाड नगरपालिकाको मन्ताभिरमा कटानको काम शुरु भएको उनले बताए ।

 

त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको हासिवाङदेखि चौरजहारी र जाजरकोटको भेरी नगरपालिकाको सिमानासम्मको काम रोकिएको छ । अग्ला ठाउँ सम्याउने, क्रसर र नालाको काम भने मेशिनमार्फत जारी राखिएको छ । उक्त खण्डसहित पहिले नै ठेक्का लागेका सबै सडकमा कालोपत्रको काम आगामी असार मसान्तसम्म सकिनुपर्ने हो ।

 

कालोपत्रको म्याद सकिन करिब १ महिना मात्र बाँकी भएकाले निर्धारित समयमा काम पूरा नहुने पक्का भएको छ । बाहिरबाट आएका दक्ष कामदार लकडाउनका कारण फर्किएका छन् । यही वैशाख २५ गतेपछि लकडाउन खुकुलो भए बाहिर गएका कामदारलाई बोलाएर कालोपत्रको काम जारी राख्ने तयारी छ ।

 

अहिलेकै अवस्थामा रहेर काम गर्दा १० किलोमिटर कालोपत्रको काम असार मसान्तसम्म सकिने अनुमान छ । बाँकी २२ किलोमिटर कालोपत्र आगामी मङ्सिरभित्र गर्ने गरी आवश्यक तयारी थालिएको छ । लकडाउनकै कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बैरीदहदेखि पूर्वको क्षेत्रमा पनि कालोपत्र शुरु भएको छैन । त्यहाँ पनि उपकरणबाट हुने काम भने चालू छ ।

 

उपकरणभन्दा श्रमिकबाट गर्नुपर्ने काम धेरै भएपछि समस्या परेको निर्माण कम्पनीले बताएका छन् । मध्यपहाडी लोकमार्गले रुकुमपूर्व र पश्चिमको १२३ किलोमिटर खण्ड ओगटेको छ भने जाजरकोटमा ८२ किलोमिटर रहेको छ । रुकुममा केही खण्डमा कालोपत्रको काम भइसकेको छ ।

 

त्यस्तै लोकमार्गका अरू सबै खण्डमा ठेक्का लागे पनि मुसीकोट नगरपालिकाको सेरीगाउँदेखि हासिबाङसम्मको १२ किलोमिटरमा बाँकी छ । आयोजना कार्यालयका अनुसार ठेक्का टुङ्गो लागे पनि सार्वजनिक गर्ने र सम्झौताको काम हुन सकेको छैन ।

 

आयोजनाको काम रोकिएपछि स्थानीयवासी निराश भएको जाजरकोट भेरी नगरपालिकाका–११ कालाभुरका धर्मबहादुर घर्तीले बताए । काम रोकिएपछि फुर्सदिलो भएर बसेको उनको भनाइ छ । निर्माण कम्पनीले दक्ष जनशक्ति बाहिरबाट ल्याएर काम गर्दै आएको छ ।

 

स्थानीय मजदुरलाई बाहिरबाट आएका दक्ष जनशक्तिले सिकाएको भरमा काम गर्दै आएका छन् । भेरी नदीमा निर्माण हुने भनिएको मध्यपहाडी लोकमार्गको पुल निर्माण हुन नसकेर ठप्प भएको छ । अहिले लकडाउनका कारण झन समस्य भएको छ ।

 

त्यस्तै कर्णाली प्रदेशको सामरिक महत्वको आयोजना नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को कामसमेत ठप्प भएको छ । बाहिर जिल्लाका मजदूर लकडाउनका कारण घर फर्केपछि डीपीआरको काम ठप्प भएको हो ।रासस

कोरोनाको महामारीबाट अटो क्षेत्रलाई यसरी जोगाऔं : नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको विचार Read Previous

कोरोनाको महामारीबाट अटो क्षेत्रलाई यसरी जोगाऔं : नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको विचार

बाँझो जग्गा खनजोत गर्दै उपत्यकावासी, बेच्न तयार पारिएको प्लटिङमा धमाधम खेती Read Next

बाँझो जग्गा खनजोत गर्दै उपत्यकावासी, बेच्न तयार पारिएको प्लटिङमा धमाधम खेती