काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि मन्त्रालयस्तरमा छलफल चलिरहेको छ । विभिन्न मन्त्रालयलगायत राष्ट्रिय योजना आयोगले पनि छलफललाई तीव्रता दिइरहेको छन् । तर, आगामी वर्षका लागि आउने बजेट भने सोचे भन्दा कम हुन सक्ने अनुमान गरिएको छ ।
आगामी वर्षका लागि २ खर्बको हाराहारीमा बजेट आवश्यक पर्ने सडक विभागका महानिर्देशक केशव शर्माले बताए ।
उनका अनुसार चालू आर्थिक वर्षमा हालसम्म खर्च पनि राम्रो नभएको र राजश्व समेत आवश्यकता अनुसार नउठ्दा आगामी वर्षको बजेट कम हुन सक्ने अनुमान गरिएको छ ।
लकडाउन अगाडि विभागको खर्च ३२ प्रतिशतको हाराहारीमा रहेको थियो । उनले लक्ष्य अनुरुप खर्च पनि हुन नसकेको र राजश्व पनि उठ्न नसकेको बताए ।
‘यो पटक खर्च पनि छैन, काम पनि कम भयो । राजश्व पनि उठेको छैन । त्यसैले बजेट कम आउन सक्छ, छलफल भइरहेको छ,’ शर्माले चाणक्यपोष्टसँग भने ।
उनले राष्ट्रिय गौरवका ओयोजना अन्तर्गत मध्यपहाडी, हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण कोरिडोरहरु, कोशी कोरिडोर, महाकाली कोरिडोर लगायतका आयोजनालाई प्राथमिकता दिइएको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आयोजनाको पुनःमूल्यांकन गर्ने छ । सो मूल्यांकनका आधारमा अर्थ मन्त्रालयमा छलफल गरेपछि बजेट विनियोजनको टुंगो लाग्ने छ ।
चालू आर्थिक वर्षमा सडक पूर्वाधार निर्माणका लागि १ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन भएको थियो । कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण चालू आवमा कुनै पनि खर्च लक्ष्य अनुसार हुन सकेको छैन भने राजश्व संकलन समेत घटेको छ । राजश्व संकलन घट्दा आगामी बजेट समेत घट्ने ठूलो सम्भावना रहेको हो ।
चालू आर्थिक वर्षमा सरकारले ११ खर्बका हाराहारीमा राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्य विपरित हालसम्म लक्ष्यको आधा मात्रा राजश्व संकलन हुन सकेको छ । चालू आर्थिक वर्षमा ७ खर्बको हाराहारीमा राजश्व संकलन भएको छ ।
चालू आर्थिक वर्षको ९ महिनामा भन्सार राजश्व गत वर्षभन्दा २० अर्ब ६२ करोड १३ लाख रुपैयाँ कम संकलन भएको छ । यस आवको ९ महिनामा २ खर्ब ४४ अर्ब ७६ करोड रुपैयाँ भनसार राजश्व संकलन भएको हो । गत आवको सोही अवधिमा २ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको थियो ।
भन्सार राजश्व मात्र नभएर चालू आवमा कोरोना भाइरस प्रकोपका कारण हरेक क्षेत्रमा राजश्व संकलनमा कमी आएको छ ।
चालू आवको फागुन मसान्तसम्ममा कुल ५ खर्ब ७० अर्ब ६३ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । कुल राजश्व मध्ये कर राजश्व ४ खर्ब ९७ अर्ब ६० करोड रुपैयाँ र गैरकर राजश्व ७३ अर्ब ३ करोड रुपैयाँ संकलन भएको थियो ।