विगत एक महिनादेखि चलीरहेको देशव्यापी लकडाउनले आम व्यापार व्यवसाय समेत ‘लकडाउन’ भएको छ ।
तर, लकडाउनको समयमा पनि अत्यावश्यक सामाग्रीहरुको विक्री वितरणलाई भने केहि हदसम्म खुल्ला राखिएको छ । औषधि, खाद्यान्न, फलफूल, तरकारी तथा दुग्धजन्य पर्दाथहरु दैनिक रुपमा निश्चित समयको लागि खुल्ला गर्ने व्यवस्था गरिएको छ । तर, समग्रमा अवस्था प्रतिकुल छ ।
भनिन्छ आवश्यकता उपाएको जननी हो ।
यहि प्रतिकुल समयमा बिभिन्न खाले नयाँ व्यवसाय वा पुरानै व्यवसाय तर फरक ढंगले गर्ने चलन शुरु भएको छ । वस्तु खरिद बिक्री तथा वित्तिय क्षेत्रमा डिजीटल प्रविधिको व्यापक प्रयोग बढेको छ ।
डिजीटल प्रविधिमा खाद्यान्न तथा अन्य आवश्यक वस्तुहरु खरिद गर्न त सहज भएको छ तर, ताजा हरियो तरकारी तथा फलफूलको खरिद बिक्रीमा भने केही अप्ठ्यारो छ । मूल्य दैनिक रुपमा घटबढ भइरहन्छ । अनी नेपालीहरु सामान्यत तरकारी तथा फलफूल आफैंले छामेर किन्न रुचाउँछन् ।
वडाले बाँढेको केहि राहतको खाद्यान्न त पाए तर यो उनको परिवारका लागि दिर्घकालीन समाधानको कुरा थिएन
आवश्यकताले जन्माएको व्यवसाय
यहि आम आवश्यकता र खरिद गर्ने बानीलाई मध्यनजर गर्दै काभ्रेका कृष्ण काजी गहतराजले व्यापारको नयाँ उपाय पहिल्याएका छन् । कृष्ण काठमाण्डाैंको जोरपाटी नारायणटारमा आफ्ना ३ छोरा, १ छोरी तथा श्रीमतीसँग बस्ने गरेका छन् । काभ्रेमा रहेको पुख्र्यौली घर ७२ सालको भुइँचालोले भत्काएपछि उनको गाँउमा बस्ने ठाँउ छैन । बाल्यकालको १४–१५ वर्षको उमेर देखि काठमाण्डौमा संघर्ष गरिरहेका उनी अब गाँउ गएर बस्ने स्थति पनि छैन ।

पेशाले उनि कालिगढ हुन । लकडाउन अघि उनी तामा पित्तलका सामानहरुमा बुट्टा कुँद्ने काम गर्ने गर्थे । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीको कारणले उनको काममा पनि मन्दी आयो । उनले बनाएका सामानको मुख्य बजार चीन थियो । चीनबाट सामानको माग घटेको ३–४ महिना भइसक्यो । कमाइ त घटेकै थियो तर, नेपालमा पनि लकडाउन सुरु भए पछि काम नै ठप्प भयो । अचानक काम ठप्प भएपछि उनी अत्तालिए । केहि दिनलाई गुजारा चल्ने खाद्यान्न त थियो तर काम गरेको पैसा समेत पउन नसक्दा उनी धेरै पीडामा परे । एक हप्ता पछि त खानै नपाउने स्थती रह्यो ।
वडाले बाँढेको केहि राहतको खाद्यान्न त पाए तर यो उनको परिवारका लागि दिर्घकालीन समाधानको कुरा थिएन । त्यसपछि उनले अब केहि नगरि काठमाडौंमा बाँच्न नसकिने महसुस गरे । उनीसँग एउटा मोटरसाइकल त थियो तर नगदको भने अभाव । अनी उनले आफ्नी दिदिलाई सम्झे र फोन पनि घुमाइहाले । दिदि पनि विरामी रहिछन् तर उनलाई एक पटकको लागि १० हजार दिन उनी तयार भइन ।
‘अब १० हजार त हातमा पर्यो, त्यो पैसाले खाद्यान्न किनौं कि अरु केहि गरौं, अलमलमा परें’, उनी भन्छन् ‘खाद्यान्न किन्यो भने १ महिनाको लागि पुग्ने थियो । एक महिना आनन्दले बस्न सकिन्थ्यो तर विश्वव्यापी फैलिएको यो महामारीले नेपाललाई कति दिन गाँज्ने हो कसैलाइ थाहा थिएन । अनि एक महिना पछि कस्कोमा गएर हात पसार्ने भन्ने चिन्ता भयो ।’
त्यसपछि उनले बरु त्यो १० हजार रुपौयाँले सानो व्यवसाय शुरु गर्ने निधो गरे । व्यापार त गर्ने तर देशनै लकडाउन भएको बेलामा के व्यापार होला त ? उनी घोत्लिन थाले । त्यतीकैमा रेडियोमा समाचारमा सुने, ‘अत्यावश्यक वस्तुको विक्री वितरणमा कुनै अवरोध हुने छैन ।’
उनले यो असहज परिस्थिति दशैंसम्म चल्ने अनुमान गरेका छन् । कम्तीमा दशैंसम्म यो व्यवसायलाई नै अघि बढाउने उनको योजना छ ।
अत्यावश्यक सामाग्री के के त ?
समाचारमै उनले कालीमाटी तरकारी तथा फलफूल बजारकाको थोक तरकारीको भाउ सुने । तत्काल बिहान आफ्नो टोलमा रहेको तरकारीको मूल्य त्यो भन्दा १ सय प्रतिशत बढि रहेको पत्ता लगाए । त्यसपछि तरकारीकै व्यापार गर्ने उनले निर्णय गरे ।
उनलाई थाहा थियो टोलका तरकारी व्यापारीहरु विहानै ३ बजे कालीमाटी पुगेर ५–६ बजे पसलमा सामान विक्री सुरु गरिसक्थे । भोलीपल्ट बिहान उनी पनि ३ बजेनै कालीमाटी पुगि हाले । अनि कम मूल्यका तरकारीहरु ५–५ किलोको बोरामा हालेर लिएर आए ।

अब उनिलाई खुद्रा बेच्न ढक तराजु आवश्यक पर्यो । सानो स्प्रिङवाला तराजु पनि थियो । उनि बाइकमा बोरा बाँधेर निस्किए बजार तिर । ‘पहिला त बाटोका प्रहरी देखेर डर पनि लाग्यो भाटा पो खाइने होकि भनेर तर विस्तारै बानी पर्दै गयो’, उनी सम्झन्छन्, ‘सुरुमा बोरा भित्र तरकारी हालेर हिँड्दा सारै असजिलो भयो ।’
ग्राहकहरु तरकारी आफैं छानेर किन्ने गर्दथे । बोरा सबै खोतल्ने अनि बन्द गर्ने गर्दा समय धेरै लाग्ने भयो । विस्तारै उनले बोरा हटाएर तरकारीकै क्रेट बाइकको पछाडी अनि दाँयाबाँया बाधेर तरकारी बेच्न थाले ।
संकटले उनलाई जागिरेबाट उद्यमी बनाइदिएको छ । आफ्नो दिदिको सापटी पहिलो हप्तामै उनले तिरिसकेका छन् ।
उनले तरकारी व्यापार शुरु गरेको केही हप्ता भइसकेको छ । अब कुन तरकारी कति बिक्छ, कस्तो माग छ उनी अनुमान गर्न थालिसकेका छन् ।
समय र अनुभव बढ्दै गएपछि उनले आफ्नो व्यवसायलाई सुहाउँदो प्रबिधिको पनि विकास गर्दै लगे । मोटरसाइकलमा सिधै क्रेट बाँधेर हिँड्न पनि असजिलो लागेपछि गत हप्ता बाट मोटरसाइकलमा फलामको फ्रेम हालेर धेरै क्रेटहरु अट्ने बनाएका छन् ।
अहिले उनको मोटर साइकलमा ६ वटा क्रेट अनि केहि झोलाहरु झुण्डिएका छन् । लगभग २०० केजी तरकारी बोकेर उनी टोट टोलको घरघरमा पुग्ने गरेका छन् । विहान ३ बजे सुरु हुने उनको दिनचर्या ११ बजे खाना खाएर केहि घण्टा सुतेपछि फेरी शुरु हुन्छ । महामारीले पुरानो पेशा रोकिए पनि अहिले उनी स्वरोजगार भएका छन् ।
संकटले उनलाई जागिरेबाट उद्यमी बनाइदिएको छ । आफ्नो दिदिको सापटी पहिलो हप्तामै उनले तिरिसकेका छन् ।

कोरोना सर्लाकी भनेर उनी सजक छन् । मुखमा मास्क र खल्तीमा स्यानीटाइजर बोकेर हिँड्ने गरेको उनले बताए । उनको झोलामा प्लास्टीकको पञ्जा पनि रहेको छ । सुरुमा कालीमाटीबाट तरकारी खरिद गर्ने गरेका उनले अहिले नजिकैको ठिमी र मुलपानीबाट समेत तरकारी खरिद गर्न थालेका छन् । उनले यो असहज परिस्थिति दशैंसम्म चल्ने अनुमान गरेका छन् । कम्तीमा दशैंसम्म यो व्यवसायलाई नै अघि बढाउने उनको योजना छ ।
त्यसपछि पनि यो व्यवसायलाई नै निरन्तरता दिने वा पुरानै काममा फर्किने भन्ने चाँही अहिले भविष्यको गर्भमै लुकिरहेको छ ।