२ वर्षसम्म विद्युतमा २० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौं । निजी क्षेत्रले सरकारसँग आगामी २ वर्षसम्म विजुलीमा २० प्रतिशत छुट दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहित निजी क्षेत्रका अगुवाहरुले उर्जामन्त्री वर्षमान पुनलाई भेटी कोरोना महामारीले उद्योग व्यवसाय नै संकटमा परेको भन्दै २ वर्षसम्मका लागि विद्युतमा २० प्रतिशत छुट दिन माग गरेको हो ।

 

साथै बक्यौता महसुल तिर्न ४ महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवाना समेत नलिन आग्रह गरिएको छ । उर्जा मन्त्रीसँग भेटको क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सहित तीनवटै संस्थाका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल रहेको थिए ।

 

साथै महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल सहित निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

 

सो अवसरमा निजी क्षेत्रका तर्फबाट अहिले उद्योगहरू बन्द रहेका र उनीहरुले विद्युत् प्रयोग समेत नगरेकाले विद्युत प्राधिकरणले कम्तिमा चार महिनाका लागि डिमान्ड चार्ज छुटदिन समेत मन्त्री पुनः समक्ष आग्रह गरिएको छ ।

 

सो अवसरमा प्रतिनिधिमण्डलकातर्फबाट विभिन्न जिल्लाहरूमा निर्माण भैरहेका जलविद्युत् आयोजनाहरूको निर्माणमा विभिन्न बाहनामा अवरोध हुँदै आएकाले निर्माण कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा समन्वय गरी सहयोग गर्न पनि आग्रह गरिएको छ ।

 

निजी क्षेत्रका तीनओटै संस्थाहरूले अहिलेको संकटको अवस्थामा उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि मौद्रीक, श्रम तथा रोजगार, विद्युत् क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सुझाव तयार गरी सरकारका विभिन्न निकायहरूमा बुझाएका छन ।

एडीबीद्वारा नेपाललाई ३० अर्ब सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने Read Previous

एडीबीद्वारा नेपाललाई ३० अर्ब सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने

लकडाउनले जन्माएको उपाय र उपायले जन्माएको व्यवसाय Read Next

लकडाउनले जन्माएको उपाय र उपायले जन्माएको व्यवसाय