अस्ट्रेलिया सरकारले राहत स्वरुप नेपाली विद्यार्थीलाई प्रतिव्यक्ति १,१०० डलर दिने

कोरोनाभाइरस महामारीका कारण गहिरो आर्थिक सङ्कटमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्ने हेतुले भिक्टोरिया सरकाले एक विशेष राहत प्याकेज घोषणा गरेको छ।

 

खुद्रा पसल एवम् हस्पिट्यालिटी उद्योग अन्तर्गत पर्ने क्याफे, रेस्टुरेन्ट, पब लगायतका स्थानहरू कोरोनाभाइरस महामारीका कारण बन्द भएपछि ती व्यापार,व्यवसायहरूमा कार्यरत रहेका हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रभावित भएपछि उनीहरूको सहायताका लागि भिक्टोरियाली सरकारले बुधबार विहान मेलबर्नमा विशेष राहत प्याकेज घोषणा गरेको हो।

 

उक्त घोषणा अनुसार भिक्टोरियाका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सहायता स्वरुप एक पटकको लागि अधिकतम १,१०० डलरसम्म प्राप्त गर्न सक्नेछन् र यस कार्यका लागि भिक्टोरियाली सरकारले ४ करोड ५० लाख डलर बराबरको अन्तर्राष्ट्रिय विद्यार्थी राहत कोष गठन हुने बताएको छ।

 

बुधबारको घोषणाबाट भिक्टोरियाली विश्वविद्यालयका अतिरिक्त टेफ, निजी कलेज लगायत अन्य तालिम तथा प्रशिक्षण प्रदायककहाँ भर्ना भएका ४०,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू लाभान्वित हुने बताइएको छ।गत साल मात्रै करिब २५०,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भिक्टोरियामा अध्ययनका लागि भनेर आएको सरकारी आँकडा छ।

अघिल्लो आर्थिक वर्षमा मात्रै नेपाल लगायत चीन, भारत, मलेसिया र भियतनामबाट प्रमुख रुपमा भित्रेका ती अढाई लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिक्टोरियाली अर्थतन्त्रलाई झन्डै १३ अर्ब डलरको योगदान गरेको बताइएको छ।

 

भिक्टोरियाको अन्तर्राष्ट्रिय विद्यार्थी बजार अस्ट्रेलियाभरमा सबैभन्दा ठुलो मानिन्छ। सन् २०१८ मा मात्र अन्तर्राष्ट्रिय विद्यार्थीले ३ अर्ब डलरभन्दा बढी रकम राज्यका विश्वविद्यालयहरूलाई शुल्क बापत बुझाएका थिए।

 

अन्तर्राष्ट्रिय विद्यार्थीहरू भिक्टोरियाली समुदायको मूल्यवान् सदस्य हुन् भन्दै राज्यका व्यापार मन्त्री मार्टिन पकुलाले आफूहरूले छिट्टै यस क्षेत्र प्रति समर्पित एक विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन्।

 

भिक्टोरियाली सरकारका अनुसार यो आर्थिक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट हुने आम्दानीमा कम्तीमा पनि लगभग ५.८ अर्ब डलरको घाटा हुने पक्कापक्की छ।

 

अघिल्लो वर्षको तुलनामा करिब एक लाखको हाराहारीमा अन्तर्राष्ट्रिय विद्यार्थी कम भएपछि भिक्टोरियाली सरकारले उक्त व्यापार घाटा अनुमान गरेको हो।

 

यसै क्रममा एक भिक्टोरियाली विश्वविद्यालय  ला’ ट्रोबले मङ्गलवार १ करोड २० लाख डलर बराबरको विद्यार्थी राहत प्याकेज घोषणा गरेको छ जसमध्ये करिब ७० लाख डलर अन्तर्राष्ट्रिय विद्यार्थीको सहयोगार्थ विनियोजन गरिएको बताइएको छ।

 

भाइरसका कारण थुप्रै विद्यार्थीहरूले आफ्नो काम गुमाउनुका साथै परिवारबाट समेत सहयोग पाउन नसकेको यस विषम परिस्थितिलाई आफूहरूले महसुस गर्दै उक्त राहत प्याकेज ल्याइएको ला’ ट्रोबकी एक सहायक उपकुलपति जेसिका भ्याण्डरलीले बताएकी छिन्।

 

‘यो सङ्कट हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गम्भीर रूपमा महसुस छन् र म यो कुरा भन्न खुसी छु कि हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रत्यक्ष सहयोग गर्न ६.८ मिलियन डलर विनियोजन गरिएको छ,’ प्रोफेसर भ्याण्डरलीले भनिन्।

 

अर्को भिक्टोरियाली विश्वविद्यालयले यस अघि करिब २ करोड डलरको राहत कोष खडा गरिसकेको छ।

-एसबीएस

लकडाउनमा वितरण गरिएको २ हजार १७८ पास दुरुपयोग Read Previous

लकडाउनमा वितरण गरिएको २ हजार १७८ पास दुरुपयोग

अमेरिकाको अर्थतन्त्रमा २००८ यताकै ठूलो गिरावट Read Next

अमेरिकाको अर्थतन्त्रमा २००८ यताकै ठूलो गिरावट