काठमाडौं । उपत्यकामा सवारीलाई वितरण गरिने पास मध्ये २ हजार १ सय ७८ सवारी पास दुरुपयोग भएको पाइएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा लकडाउन उल्लंघन गर्ने सवारीको संख्या १६ हजार ७३३ सवारी पुगेको हो ।
दुई पाँग्रे १५ हजार ३३३ सवारीले लक डाउन उन्लंघन गरेको पाइएको छ । पचार पाँग्रे र त्यस माथिका सवारी १ हजार ४०० लक डाउन उल्लंघन गरेका छन् । यी सवारीलाई प्रहरीले नियन्त्रणमा राख्ने गरेको भएपनि हाललाई चेतावनी दिएर छाड्ने गरेको विभागका सूचना अधिकारी जीवनकुमार श्रेष्ठले बताए ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लक डाउन गरेको आज ३८ औं दिन भइसकेको छ । सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गते सम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेहरु झन बढेका छन् ।
लक डाउनको म्याद थपिएसँगै प्रहरीले मानिसहरुको चहलपहल नियन्त्रण गर्न कडाइका साथ काम गरिरहेको छ । सडकमा सवारी साधनहरु समेत बढ्न थाले पछि ट्राफिक प्रहरीले परिचयपत्र हेरेर कारबाही गर्न थालेको श्रेष्ठले बताए । उनका अनुसार एक पटक चेतावनी दिएर छाडेका सवारीहरु फेरि सडकमा देखिएका छैनन् ।
‘हामीले सवारीहरुलाई कडाइका साथ चेकजाँच गरिरहेका छौं, अत्यावश्यक बाहेक अनावश्यक सवारी गुडाउनेको सवारी नियन्त्रणमै राखेका छौँ,’ श्रेष्ठले भने । देशभर अत्यावश्यक सेवाका अन्तर्गत, एम्बुलेन्स, खाद्य, पानी, ग्यास लगायतका सवारीहरुलाई सञ्चालनमा कुनै रोक लगाइएको छैन ।
पासको दुरुपयोग गर्नेलाई समेत प्रहरीले कारवाही गर्दै आएको छ । म्याद सकिएका पास लिएर सवारी गुडाउने पनि पाइएको भन्दै श्रेष्ठले विशेष गरी त्यसलाई करवाही गरिएको बताए ।
आज मात्र ट्राफिकले ७ सय १४ सवारीलाई नियन्त्रणमा लिएको छ । त्यस मध्ये ६ सय ५९ वटा दुई पाँग्रे सवारी नियन्त्रणमा लिइएको थियो भने ५५ वटा चार पाँग्रे सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । २० वटा सवारीले पास दुरु पयोग गरेको पाइएको हो ।
धेरै पास दुरुपयोग गरेका मध्येमा म्याद सकिएका पासहरु प्रयोग गर्दै सवारी सञ्चालन भएको पाइएको जनाएको छ ।