यो वर्ष आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्रै हुने सरकारको प्रक्षेपण, प्रतिव्यक्ति आय १ लाख २६ हजार

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.२७ हुने प्रक्षेपण गरेको छ ।

 

केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवमा आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने भएको हो । यो विश्व बैंकले गरेकोभन्दा कम हो । विश्व बैंकले चालू आवमा २.८ प्रतिशतसम्म नेपालको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ ।

 

सरकारले चालू आवको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर ह्वात्तै घट्ने भएको विभागले जनाएको छ ।

 

भूकम्पपछिका तीन आर्थिक वर्षमा नेपालले लगातार ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा ७.७४ प्रतिशत, २०७४/७५ मा ६.३ प्रतिशत र २०७५/७६ मा ६.७५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको विभागको तथ्यांक छ ।

कोरोनाको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको अवस्थामा यस आवको अनुमान तयार गर्दा होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस आवको अन्त्यसम्म अत्याधिक प्रभावित रहेन विभागले जनाएको छ ।

 

विभागका अनुसार, चालू  मूल्यअनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब पुगेको छ, जुन गत वर्ष ३६ अर्ब ६४ करोड थियो।

 

आर्थिक वृद्धिदर कम हुने भएपछि यो वर्ष नेपालीको प्रतिव्यक्ति औसत आयको विस्तार पनि थोरै मात्र हुनेछ । यो वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ८५ डलर पुगेको छ, जुन गत आर्थिक वर्षमा १ हजार ३४ डलर थियो।

 

यो वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ भने गतवर्ष १ लाख १७ हजार २६८ रुपैयाँ थियो ।

अघि बढ्यो दोर्दीखोला जलविद्युत् आयोजनाको काम Read Previous

अघि बढ्यो दोर्दीखोला जलविद्युत् आयोजनाको काम

लकडाउनमा वितरण गरिएको २ हजार १७८ पास दुरुपयोग Read Next

लकडाउनमा वितरण गरिएको २ हजार १७८ पास दुरुपयोग