काठमाडौं । बन्दाबन्दीलाई पूर्णपालना गर्दै सिन्धुपाल्चोक जिल्लामा रोकिएका विकास निर्माणका कामलाई सुचारु हुने भएको छ ।
जिल्ला समन्वय समितिको संयोजनमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र कार्यालयका प्रमुखलगायतको संयुक्त बैठकले सामाजिक दूरी कायम गरी विकास निर्माणका काम सञ्चालन गर्ने निर्णय गरेको हो ।
विकास निर्माणका काम सञ्चालन गर्न सम्बन्धित स्थानीय तहले समन्वय गरी पास उपलब्ध गराउने र आवश्यक सामग्री ल्याउन परे निर्माण कार्यको निरन्तरताका लागि सहजीकरण गर्ने उपसमितिबाट समन्वय गराउने निर्णय भएको छ ।
बैठकले जिल्लामा सञ्चालित क्रसरहरु सुचारु गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहसँग समन्वय गरेर सामाजिक दुरीलाई कायम गर्दै क्रसर सञ्चालन गर्न अनुमति दिने निर्णय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद शेरबहादुर तामाङले बताए।
त्यसैगरी कृषिलगायत आवश्यक अन्य सामाग्री साल्ट ट्रेडिङसँग सहकार्य गरेर स्थानीय तहले ल्याउने र कृषकको मागअनुसार वितरण गर्ने निर्णय भएको छ । बैठकले जिल्ला बाहिरबाट आउने माथि निगरानी गर्दै बन्दाबन्दीलाई कडाइ गर्ने पनि निर्णय गरेको छ । रासस