काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न भएको छ ।
राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरसबाट अर्थतन्त्रलाई जोगाउन चालू आर्थिक वर्षको चौथो त्रैमासको भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने बताएका हुन् ।
चैतमा किस्ता बुझाउनेलाई १० प्रतिशत ब्याजमा सहुलियत दिएको केन्द्रीय बैंकले आगामी असार मसान्तसम्म ब्याजमा सहुलियत दिने जानकारी गराएको हो । यद्यपि ब्याजमा कति सहुलियत दिने भने खुलाइएको छैन ।
कोरोना भाइरसबाट बढी प्रभावित क्षेत्रलाई चालू पूँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने उनले बताए ।
साना तथा मझौला उद्योग, पर्यटन र कोभिड-१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढंगले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिने भएको छ ।
६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने केन्द्रीय बैंकले जानकारी दिएका छन ।