कोरोनालाई जितेका बेलायती प्रधानमन्त्री आजदेखि नियमित काममा फर्किँदै

कोरोना भाइरसलाई जितेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आज (सोमबार) देखि नियमित काम शुरु गर्ने भएका छन् ।लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनी काम शुरु गर्न तयार भएको अधिकारीहरुले जनाएका छन् ।

 

उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका हुन् । प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए ।

 

प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताउनु भएको थियो । त्यसपछि एक हप्ता सामान्य श्ययामा बसेका थिए ।

 

सघन कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए ।

 

प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए।

 

कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ ।

 

मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौ देश भएको छ । बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

 

पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ ।

-एजेन्सी

राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने Read Previous

राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने

जोरपाटी-सुन्दरीजल सडकको काम पुनः शुरु Read Next

जोरपाटी-सुन्दरीजल सडकको काम पुनः शुरु