जोरपाटी-सुन्दरीजल सडकको काम पुनः शुरु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी भएपछि रोकिएको जोरपाटी–सुन्दरीजल सडकको काम सुरक्षाका उपाय अपनाई पुनः शुरु गरिएको छ । जोरपाटी-सुन्दरीजल सडकमा ढलको पाइप बिच्छ्याउने र रूख हटाउने काम बन्दाबन्दी जारी रहे पनि शुरु गरिएको हो ।

 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार जोरपाटी-सुन्दरीजल सात किमी सडकको दुवै भागमा ढलका लागि हिमपाइप बिच्छ्याउने र रूख काट्ने काम शुरु भएको छ, यो मार्गमा ६७ रूख काट्नुपर्नेमा तीन दिनअघि देखि काम शुरु गरी २१ रूख काटिएको छ ।

 

पाइप बिच्छ्याउन आठ र रूख काट्न छजना कामदार परिचालन गरिएको छ । काम शुरु भएको तीन दिनमा १०० मिटर सडकको दुवैतिर हिम पाइप राखिएको आयोजनाले जनाएको छ । बन्दाबन्दी शुरु हुनुअघि दुई किमी सडकको दुवैतिर हिम पाइप राखिएको थियो ।

 

आर्थिक वर्ष २०७२/७३ मा ठेक्का भएको सडक गत असार मसान्तमै सकिनुपर्ने योजना थियो । सात किमीको दूरीमा ८०० भन्दा बढी घर पर्ने कारणले म्याद सकिने बेलासम्म कामसमेत शुरु हुन नसकेको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए ।

 

सडकको केन्द्रविन्दुबाट ११/११ मिटर सडक विस्तार गरी कालोपत्र गर्ने योजना भए पनि गोकर्णेश्वर नगरपालिकाको समन्वयमा केन्द्रविन्दुबाट दुवैतिर सात/सात मिटर विस्तार गर्ने गरी सहमति भएको छ । सार्वजनिक जग्गा भएका स्थानमा भने केन्द्रविन्दुबाट ११/११ मिटर सडक नै बनाइने जनाइएको छ ।

 

आगामी असार मसान्तसम्म सडकको म्याद थप गरिएकामा हालसम्म २२ प्रतिशतमात्र भौतिक प्रगति भएको सूचना अधिकारी देवकोटाले बताए। असार मसान्तसम्म काम नसकिने भएपछि अर्को एक वर्ष म्याद थपको प्रक्रिया पनि शुरु भइसकेको छ ।

 

नगरपालिकाको मुख्य सडक भएकाले छिटो सम्पन्न गर्न रुख काट्ने र ढल हाल्ने काम सहजीकरणका लागि सहयोग नगर प्रमुख सन्तोष चालिसे बताउँछन् । रुख काट्ने र ढल हाल्ने काम मात्र सक्दा पनि धेरै काम हुने भएकाले रोगको सङ्क्रमणबाट बच्न सुरक्षाका उपाय अपनाएर काम भइरहेको उनले बताए ।

कोरोनालाई जितेका बेलायती प्रधानमन्त्री आजदेखि नियमित काममा फर्किँदै Read Previous

कोरोनालाई जितेका बेलायती प्रधानमन्त्री आजदेखि नियमित काममा फर्किँदै

यसरी ल्याउँदैछ नेपाली सेनाले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री, सवा २ अर्ब भुक्तानी Read Next

यसरी ल्याउँदैछ नेपाली सेनाले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री, सवा २ अर्ब भुक्तानी